लण्डनमा लखन थापामगरको तस्बिर अनावरण
लण्डन । बेलायतको लण्डनस्थित नेपाली राजदुतावासमा नेपालका प्रथम शहीद लखन थापामगरको तस्वीर अनावरण गरिएको छ । थापामगरको १४६ औँ स्मृति दिवसको अवसर पारेर सो तस्वीर अनावरण गरिएको हो । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा र मगर संघ बेलायतका अध्यक्ष सीता पुनले संयुक्त रुपमा सो तस्वीर राखेका थिए ।
दुताबासद्वारा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै राजदुत आचार्यले हरेक देशको आफ्नै इतिहास हुने भन्दै अधिनायकवादका विरुद्धमा लखन थापामगरले गरेको विद्रोह प्रेरणादायी भएको बताउनुभयो । लखन थापामगर लगायत शहीदहरुले देशका लागि दिएको योगदानको सो अवसरमा राजदुत आचार्यले स्मरण गर्नुभयो । दुताबासको रिसेप्सन हलमा राखिएको थापाको तस्वीरले उहाँको बारेमा जान्न बुझ्न चाहनेहरुलाई मौका दिने भन्दै आचार्यले दुताबासमा तस्वीर राख्न पाउँदा खुशी लागेको बताउनुभयो ।
महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पाले लखन थापालाई प्रथम शहीद घोषणा गराउनका लागि धेरै संघर्ष गर्नु परेको स्मरण गर्दै बेलायतस्थित नेपालीहरुको साझा घर नेपाली दुताबासमा उनको तस्वीर राख्न सन् २०१६ देखि नै पहल गर्दै आएको जानकारी दिनुभयो । नेपाली दुताबासले प्रथम शहीदको तस्वीर राखेर उदाहरणीय कार्य गरेको भन्दै उनले आगामी दिनमा शहीद दिवसमा अरु शहीदहरुसँगै लखन थापाको पनि नाम लिइने विश्वास व्यक्त गर्नुभयो ।
मगर संघ युकेका अध्यक्ष सीता पुनले दुताबासमा लखन थापामगरको तस्वीर राख्न गरिएको अनुरोध स्वीकार गरिदिनुभएकोमा दुताबास परिवारमा धन्यवाद दिनुभएको थियो । छोटो कार्यक्रमको संचालन दुताबासका उपनियोग प्रमुख रोशन खनालले गर्नुभएको थियो भने तस्वीर राख्नुअघि लखन थापामगरको फोटोमा पुष्पगुच्छा तथा खादा अर्पण गरी मौनधारण गरिएको थियो । स्मरण रहोस यो तस्बिर २०१६ मा मगर संघ युकेले नेपाली दुतावास लण्डनमा सजाउनुको लागि प्रदान गरिएको थियो ।











तपाइँको प्रतिक्रिया