१७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
लन्डन। तमु धीं यूकेको आयोजनामा बेलायतको लन्डनमा हुन लागेको १७औँ नेपाली मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूल नारासहित आगामी ३० अगस्ट २०२६ मा केम्पटन पार्क रेसकोर्समा मेला आयोजना हुँदैछ।
तमु धीं यूकेले आइतबार, २३ अगस्टमा मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गरी मेलाको तयारीबारे जानकारी दिएको हो। विगतका वर्षहरूमा जस्तै यसपटक पनि नेपाली कला, संस्कृति, भाषा, भेषभूषा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भव्य रूपमा मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना हुने मेलामा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। मेलामा नेपाली तथा विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, बेलायती राजनीतिक व्यक्तित्व, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, कलाकार, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने आयोजकको अपेक्षा छ।
संस्थाका महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए। मिडिया सेक्रेटरी एसके गुरुङले सहभागी सञ्चारकर्मीहरूको परिचय गराउँदै स्वागत गरेका थिए।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ तथा संस्थाका उपाध्यक्ष एवं नेपाली मेला संयोजक कमल कोने गुरुङले अतिथि र सञ्चारकर्मीलाई सम्मान गरेका थिए।
सो अवसरमा नेपालबाट बेलायत आएका समाजसेवी तथा कलाकार, काउन्सिलर उत्तरबहादुर गुरुङ, तमु धीं यूके आमा समूहकी संस्थापक अध्यक्ष तथा एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ, तमु धीं यूकेका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, बीसीसी यूकेका निवर्तमान अध्यक्ष तथा तमु धीं यूकेका सल्लाहकार हर्क गुरुङ र उनकी श्रीमती जगना गुरुङलगायतलाई विशेष सम्मान गरिएको थियो।
पत्रकार सम्मेलनमा संस्थाका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरू रामचन्द्र गुरुङ र ज्ञाम गुरुङ, ट्रस्टी सूर्य गुरुङ, प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ, बीसीसी यूकेका निवर्तमान अध्यक्ष तथा तमु धीं यूकेका सल्लाहकार हर्क गुरुङ, लन्डन इकाई अध्यक्ष भरत गुरुङलगायत संस्थाका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको उपस्थिति थियो।
नेपाली कला, संस्कृति र पहिचानको उत्सव
पत्रकार सम्मेलनमा मेलाको तयारी र कार्यक्रमबारे जानकारी दिँदै उपाध्यक्ष एवं मेला संयोजक कमल कोने गुरुङले नेपाली मेला बेलायतमा बसोबास गर्ने नेपालीहरूको कला, संस्कृति र साझा पहिचानको उत्सव भएको बताए।
उनका अनुसार मेला बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ। औपचारिक उद्घाटन कार्यक्रम बिहान ११ बजेर २० मिनेटमा सुरु हुनेछ।
मेलामा नेपालका विभिन्न जातजाति र समुदायका मौलिक संस्कृति, परम्परा, वेशभूषा, रहनसहन तथा सामाजिक विशेषता झल्काउने झाँकी प्रस्तुत गरिनेछ। यसका साथै विभिन्न समुदाय र संघसंस्थाका कलाकारले सांस्कृतिक प्रस्तुति दिनेछन्।
मेला परिसरमा नेपाली खानाका परिकारसहित विभिन्न व्यापारिक तथा च्यारिटी स्टल रहनेछन्। सर्वसाधारणको स्वास्थ्य परीक्षण र स्वास्थ्यसम्बन्धी जनचेतनाका लागि हेल्थ क्याम्पसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
संयोजक गुरुङका अनुसार यस वर्ष बेलायतमा क्रियाशील ४२ वटा नेपाली संघसंस्थाले मेलाको झाँकीमा सहभागिता जनाउने निश्चित भएको छ। सहभागी संघसंस्थाले नेपालका विभिन्न जाति, भाषा, संस्कृति, परम्परा र भौगोलिक विविधतालाई झाँकीमार्फत प्रदर्शन गर्नेछन्। मेलामा झाँकीका साथै नृत्य प्रतियोगितासमेत आयोजना हुनेछ।
एम्बासडर कपको पुरस्कार राशि बढ्यो
यस वर्ष झाँकी तथा नृत्य प्रतियोगिताका विजेता टोलीले १ हजार ५०० पाउन्ड राशिको एम्बासडर कप प्राप्त गर्नेछन्। अघिल्लो वर्ष विजेताका लागि १ हजार १०० पाउन्ड पुरस्कार राशि रहेकोमा यसपटक बढाएर १ हजार ५०० पाउन्ड पुर्याइएको हो।
त्यस्तै, प्रतियोगिताको पहिलो र दोस्रो उपविजेता टोलीले क्रमशः ७०० र ५०० पाउन्ड पुरस्कार पाउनेछन्।
झाँकी तथा नृत्य प्रतियोगिताका विजेता टोलीलाई प्रदान गरिने १ हजार ५०० पाउन्ड राशिको एम्बासडर कप बीसीसी यूकेका निवर्तमान अध्यक्ष तथा तमु धीं यूकेका सल्लाहकार हर्क गुरुङ र उनकी श्रीमती जगना गुरुङले प्रायोजन गरेका छन्।
सोही अवसरमा आयोजना हुने एनआरएनए कपको विजेतालाई ५०० पाउन्ड पुरस्कार प्रदान गरिनेछ। यसअघि एनआरएनए कपको पुरस्कार राशि ३०० पाउन्ड थियो। प्रतियोगिताको आकर्षण र सहभागीको उत्साह बढाउने उद्देश्यले पुरस्कार राशि वृद्धि गरिएको आयोजकले जनाएको छ।
७५ स्टल, ६१ हजार पाउन्ड खर्चको अनुमान
मेला परिसरमा खाना, व्यापार, सेवा, च्यारिटी तथा अन्य प्रयोजनका गरी कुल ७५ वटा स्टल रहनेछन्। मेला सम्पन्न गर्न करिब ६१ हजार पाउन्ड खर्च हुने अनुमान गरिएको मेला संयोजक गुरुङले जानकारी दिए।
उनका अनुसार मेलाबाट करिब ६४ हजार पाउन्ड आम्दानी हुने अपेक्षा गरिएको छ। मेलाको व्यवस्थापन, कार्यक्रम सञ्चालन, पुरस्कार, सुरक्षा, स्थल व्यवस्थापन तथा अन्य प्राविधिक कामका लागि उक्त रकम खर्च हुने बताइएको छ।
मेलामा बालबालिका र वृद्धवृद्धाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। वयस्क दर्शकले भने प्रवेश शुल्कबापत पाँच पाउन्ड तिर्नुपर्नेछ।
नेपाली मेला बेलायतमा रहेका नेपाली समुदायलाई एकै स्थानमा भेला गराउने मात्र नभई नयाँ पुस्तालाई नेपाली कला, संस्कृति, परम्परा र पहिचानसँग जोड्ने महत्त्वपूर्ण माध्यम बन्दै आएको आयोजकको भनाइ छ। मेलाले बेलायतको बहुसांस्कृतिक समाजमा नेपालको सांस्कृतिक विविधता चिनाउनसमेत सहयोग पुर्याउने विश्वास गरिएको छ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेला कुनै एउटा संस्था वा समुदायको मात्र नभई बेलायतवासी सम्पूर्ण नेपालीको साझा कार्यक्रम भएको बताए।
उनले मेलालाई व्यवस्थित, भव्य र सफल बनाउन सञ्चारकर्मी, बेलायतस्थित नेपाली संघसंस्था, व्यवसायी, समाजसेवी, स्वयंसेवक तथा सर्वसाधारणलाई आ–आफ्नो क्षेत्रबाट सहयोग र सहभागिता जनाउन आग्रह गरे।









तपाइँको प्रतिक्रिया