वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
काठमाडौं । बाढीपीडितका लागि बेलायतमा संकलित करिब १ करोड ३१ लाख रुपैयाँ राहत लिएर नेपाल पुगेको तमु धीं यूकेको प्रतिनिधिमण्डलले गृहमन्त्री सुदन गुरुङसँग भेट गरी भूतपूर्व ब्रिटिस गोर्खाको वंशजको नागरिकता निरन्तरता, समान पेन्सनलगायतका विषय समेटिएको ज्ञापनपत्र बुझाएको छ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा सोमबार गृह मन्त्रालय पुगेको टोलीले विशेषगरी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको वंशजको नागरिकता निरन्तरता, समान पेन्सनलगायत गोर्खा समुदायका महत्वपूर्ण विषयमा नेपाल सरकारबाट प्रभावकारी पहल गर्न माग गरेको हो।
ज्ञापनपत्र बुझाउँदै अध्यक्ष गुरुङले भूतपूर्व गोर्खाहरूको विषयलाई सामान्य गैरआवासीय नेपालीको विषयका रूपमा मात्र नहेरी उनीहरूको विशिष्ट ऐतिहासिक पृष्ठभूमि र योगदानलाई ध्यानमा राखेर विशेष रूपमा सम्बोधन गर्नुपर्ने धारणा राख्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
ज्ञापनपत्रमा नेपाल, भारत र बेलायत सरकारबीच भएको त्रिपक्षीय सम्झौताको पृष्ठभूमि तथा ब्रिटिस सेनामा सेवा गरेका नेपाली नागरिक र उनीहरूका परिवारसँग सम्बन्धित नागरिकता, वंशज अधिकार र नेपालसँगको सम्बन्धका विषयसमेत उठाइएको छ। साथै विदेशमा रहेका नेपाली तथा गोर्खा समुदायसँग जोडिएका नागरिकता र कानुनी हैसियतका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री गुरुङले तमु धीं यूकेले उठाएका विषयलाई गम्भीरतापूर्वक लिने बताएका छन्। उनले ज्ञापनपत्रमा तत्काल तोक लगाउँदै एक महिनाभित्र प्रतिवेदन पेस गर्ने म्यान्डेटसहित कार्यदल गठन गर्न गृह मन्त्रालयका सचिवलाई निर्देशन दिएको सार्वजनिक विवरणमा उल्लेख छ।
भेटमा गोर्खा समुदायका दीर्घकालीन सवाललाई नेपाल सरकारले प्रभावकारी रूपमा उठाउनुपर्ने तथा सम्बन्धित विषय समाधानका लागि आवश्यक पहल अघि बढाउनुपर्नेमा समेत जोड दिइएको थियो। तमु धीं यूकेले गोर्खा समुदायका विषयलाई नेपालसँगको ऐतिहासिक सम्बन्ध र योगदानसँग जोडेर हेर्न सरकारको ध्यानाकर्षण गराएको छ।
भेटका अवसरमा अध्यक्ष जुमकाजी गुरुङले गृहमन्त्री सुदन गुरुङलाई तमु धीं यूकेको मानार्थ आजीवन सदस्यता प्रदान गर्दै संस्थाको ब्याज र टाइसमेत हस्तान्तरण गरेका थिए। सो अवसरमा संस्थाको स्थापना, गतिविधि, उपलब्धि तथा सामाजिक र परोपकारी कार्यबारे गृहमन्त्रीलाई जानकारी गराइएको थियो भने ज्ञापनपत्र वाचन गरेर सुनाइएको थियो।
गृहमन्त्रीसँगको भेटमा अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा तमु धीं यूकेको प्रतिनिधिमण्डल सहभागी थियो। भेटको संयोजनमा सांसद विना गुरुङ र बेलायतस्थित काउन्सिलर ज्ञानप्रसाद गुरुङलगायतको भूमिका रहेको प्रकाशित विवरणमा उल्लेख छ।
यसअघि भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेले बेलायतमा विभिन्न कार्यक्रम तथा सहयोग अभियानमार्फत करिब १ करोड ३१ लाख रुपैयाँ संकलन गरेको थियो। राहत हस्तान्तरणका लागि अध्यक्ष गुरुङको नेतृत्वमा टोली आइतबार बेलायतबाट नेपाल प्रस्थान गरेको थियो।
संकलित राहत कोषमध्ये १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने र बाँकी करिब २० लाख रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष राहत वितरणमा खर्च गर्ने योजना रहेको संस्थाले जनाएको छ।
गत २६ अगस्टको बाढीपछि तमु धीं यूकेले आफ्नो १७औँ नेपाली मेलालाई समेत राहत अभियानमा केन्द्रित गरेको थियो। नेपाली मेलाको बचत, ट्रेल वाक च्यारिटी तथा बेलायतस्थित विभिन्न संघसंस्था, पदाधिकारी, सदस्य र शुभेच्छुकबाट प्राप्त सहयोग राहत कोषमा समावेश गरिएको थियो।
यसरी बाढीपीडितका लागि ठूलो परिमाणको राहत लिएर नेपाल पुगेको तमु धीं यूकेको टोलीले मानवीय सहयोगसँगै भूतपूर्व ब्रिटिस गोर्खा समुदायका नागरिकता तथा अधिकारका विषयलाई पनि नेपाल सरकारसमक्ष औपचारिक रूपमा उठाएको छ।









तपाइँको प्रतिक्रिया