केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
लन्डन। बेलायतको केम्पटन पार्क रेसकोर्स आइतबार नेपाली कला, संस्कृति, भेषभूषा र मौलिक परम्पराले रंगिएको छ। तमु धीं एसोसिएसन यूकेद्वारा आयोजित १७औँ नेपाली मेला यूके २०२६ मा बेलायतका विभिन्न क्षेत्रबाट करिब १० हजार दर्शक सहभागी भए।
“हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” मूल नारासहित ३० अगस्टमा आयोजित मेलामा नेपालका विभिन्न जातजाति तथा समुदायका मौलिक झाँकी, लोकनृत्य, बाजागाजा र परम्परागत पोसाक प्रदर्शन गरिएको थियो। नेपाली दूतावास लन्डनको सहकार्यमा सम्पन्न मेलाले केम्पटन पार्कलाई एक दिनका लागि ‘मिनी नेपाल’को स्वरूप दिएको सहभागीहरूले बताएका छन्।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी थिए। कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा राना मगर, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, कलाकार, व्यवसायी, सञ्चारकर्मी र समुदायका अगुवाको उपस्थिति थियो।
मौलिक झाँकीमा देखियो नेपालको विविधता
मेलामा बेलायतमा सक्रिय ४२ नेपाली संघसंस्थाले सहभागिता जनाएका थिए। सहभागी संस्थाहरूले लाखे, मारुनी, साकेला, धिमे लगायतका नृत्य तथा सांस्कृतिक झाँकीमार्फत नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता प्रस्तुत गरे।
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म परम्परागत पोसाक र गरगहनामा सजिएर प्रस्तुत हुँदा मेला परिसर उत्सवमय बनेको थियो। प्रस्तुतिहरूले प्रवासमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली संस्कृति र पुर्ख्यौली पहिचानसँग जोड्ने सन्देशसमेत दिएका थिए।
पासा पुचः गुथिले जित्यो दुई कप
यस वर्षको मेलामा पासा पुचः गुथि यूकेले उत्कृष्ट प्रदर्शन गर्दै ‘एम्बासडर कप २०२६’ र ‘एनआरएनए कप’ दुवै उपाधि जितेको छ।
झाँकी तथा नृत्यको समग्र मूल्याङ्कनमा मगर संघ यूके द्वितीय र किरात राई यायोक्खा यूके तृतीय भए। एम्बासडर कप विजेता पासा पुचः गुथिले एक हजार पाँच सय पाउन्ड प्राप्त गर्दा उपविजेताहरूलाई क्रमशः सात सय र पाँच सय पाउन्ड प्रदान गरिएको थियो।
नृत्य प्रतियोगितामा तनहुँ समाज यूके प्रथम भयो। पासा पुचः गुथि यूकेले दोस्रो तथा किरात राई यायोक्खा यूकेले तेस्रो स्थान हासिल गरे।
झाँकी प्रतियोगितामा पासा पुचः गुथि यूके प्रथम, मगर संघ यूके द्वितीय र बर्न्ट ओक नेपाली समाज यूके तृतीय बने।
सांस्कृतिक उत्सवसँगै मानवीय सहयोग
यसपटकको नेपाली मेला मनोरञ्जन र सांस्कृतिक प्रदर्शनमा मात्र सीमित रहेन। नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै मेलामार्फत पाँच हजार एक सय १३ पाउन्ड सहयोग संकलन गरिएको थियो।
आयोजक तमु धीं यूकेले मेलाबाट प्राप्त हुने सम्पूर्ण मुनाफासमेत बाढीपीडितको राहत तथा सहयोगमा खर्च गरिने जनाएको छ। मेलामा सहभागी संघसंस्था तथा सर्वसाधारणलाई मानवीय सहयोग अभियानमा साथ दिन आह्वान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत दुवाडीले विदेशमा रहेर नेपाली कला, संस्कार र परम्पराको संरक्षणमा तमु धीं यूकेले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए।
पूर्वउपसभामुख राना मगरले बेलायतमा नेपाली मौलिक संस्कृति जीवन्त रहेको देख्दा आफूलाई सानो नेपालको अनुभूति भएको बताइन्। उनले नेपाली सभ्यता र पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले नेपाली मेला संस्थाले आयोजना गरे पनि यो बेलायतवासी सम्पूर्ण नेपालीको साझा उत्सव भएको बताए। मेला संयोजक तथा संस्थाका उपाध्यक्ष कमल कोने गुरुङले कार्यक्रमलाई नेपाली मन, एकता र पहिचानको संगमका रूपमा व्याख्या गरे।
मेलास्थलमा नेपाली खानाका परिकार, पोसाक, हस्तकला, व्यापार तथा परोपकारी सेवासम्बन्धी करिब ७५ स्टल राखिएका थिए। स्वास्थ्य शिविरसहितका सेवामूलक गतिविधिले मेलालाई सांस्कृतिकसँगै सामाजिक सहभागिताको साझा मञ्च बनाएको थियो।
बेलायतको बहुसांस्कृतिक समाजमा नेपालको मौलिक पहिचान चिनाउँदै आएको नेपाली मेलाले प्रवासी नेपालीबीच एकता बलियो बनाउन र नयाँ पुस्तालाई आफ्नो भाषा तथा संस्कृतिसँग जोड्न महत्त्वपूर्ण योगदान दिएको आयोजकको विश्वास छ।









तपाइँको प्रतिक्रिया