नेपाल पत्रकार महासंघ यूकेको १४ औँ वार्षिकोत्सव सम्पन्न, वरिष्ठ पत्रकार खगेन्द्र नेपाली सम्मानित
लन्डन, बेलायत — नेपाल पत्रकार महासंघ यूके शाखाले आइतबार आफ्नो १४ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। अल्डरसटस्थित एम्पायर हलमा आयोजित समारोहको उद्घाटन नेपालका लागि बेलायती राजदूत चन्द्रकुमार घिमिरे, महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा तथा यूके शाखा अध्यक्ष विमला सेनेले संयुक्त रूपमा गरे।
कार्यक्रमको प्रमुख आकर्षणस्वरूप “वर्ष पत्रकारिता सम्मान २०२५” वरिष्ठ पत्रकार तथा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीलाई प्रदान गरिएको थियो। उनलाई नगद £२५१, दोसल्ला र सम्मानपत्रसहित सम्मानित गरियो।
सम्मान छनोट समितिका संयोजक सुमन खरेलले नेपालीको पाँच दशक लामो पत्रकारिता यात्रा र योगदानबारे जानकारी दिँदै, यस्तो व्यक्तित्वलाई सम्मान दिन पाउनु गर्वको विषय भएको बताए।
कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष निर्मला शर्माले विदेशमा पत्रकारिता गर्नु थप चुनौतीपूर्ण भए पनि यस्तो वातावरणमा निरन्तरता दिनु नै प्रेरणादायी भएको बताइन्। उनले नेपालमा मिडिया उद्योग आर्थिक मन्दी, प्रेस स्वतन्त्रतामाथि चुनौती, र तलब असुरक्षाजस्ता समस्याबाट गुज्रिरहेको उल्लेख गर्दै, यस्ता अवस्थामा पनि जबाफदेही पत्रकारिताको महत्त्व झनै बढेको बताइन्।
राजदूत घिमिरेले बेलायतमा रहेका नेपाली पत्रकारहरूलाई ब्रिटिश मूलधारका सञ्चारमाध्यमहरूमा कसरी स्थान बनाउने भन्नेबारे गम्भीर रूपमा सोच्न सुझाव दिए। उनले नेपाल–बेलायत सम्बन्ध प्रगाढ बनाउन पत्रकारहरूले खेलेको भूमिकालाई अतुलनीय भने।
शाखा अध्यक्ष विमला सेनेले कार्यक्रम सफल बनाउन साथ दिने सबैप्रति आभार व्यक्त गर्दै, समुदायमा एकता र समन्वयको सन्देश फैलाउनु पत्रकारहरूको पनि जिम्मेवारी भएको उल्लेख गरिन्।
कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले स्वागत मन्तव्यसहित महासंघको १४ वर्षे यात्रामा आधारित वृत्तचित्र प्रस्तुत गरे। साथै, उपाध्यक्ष प्रमीला लाबुङ राईले जापान र युरोप शाखाबाट प्राप्त शुभकामना सन्देश वाचन गरिन्।
समारोहको दोस्रो चरणमा वार्षिक साधारण सभा सम्पन्न गर्दै प्रतिवेदनहरूमाथि छलफल तथा अनुमोदन गरिएको थियो। कार्यक्रमकै दौरान फोनिज यूकेले अध्यक्ष शर्मालाई स्वागत सम्मान पनि गरेको थियो।









तपाइँको प्रतिक्रिया