लन्डनको केम्पटन पार्कमा ‘मिनी नेपाल’ झल्किने ऐतिहासिक नेपाली मेला सम्पन्न
लन्डन, बेलायत२४ अगस्ट २०२५ लन्डनस्थित केम्पटन पार्क रेसकोर्स आइतबार एकदिनको लागि नेपालमै परिणत भएको दृश्य देखियो। बेलायतभरबाट आएका करिब १३ हजार दर्शकले सहभागिता जनाएका १६औं नेपाली मेलाले नेपालको सांस्कृतिक समृद्धि र विविधतालाई विदेशी भूमिमा प्रस्तुत गर्दै ऐतिहासिक सफलता हात पारेको छ।
मेलामा बेलायतभरका ४४ वटा नेपाली संघ–संस्थाले प्रतिनिधित्व गरेका थिए। झाँकी तथा सांस्कृतिक प्रस्तुतिमा सहभागी जात–जाति र समुदायले आ–आफ्ना मौलिक भेषभूषा, नृत्य, वाद्ययन्त्र र रहनसहन झल्काएका थिए।
नेपालको सांस्कृतिक झल्को झाँकीमार्फत
तमु समुदायको ट्होटे नाच, मगर समुदायको कौरा, सारंगा, थाली, टप्पा र मारुनी नृत्य, नेवार समुदायको सापारु (गाइजात्रा) र घिन्ताङ घिसी,लिम्बु समुदायको हाक्पारे, च्याब्रुङ र धान नाच,राई समुदायको साकेला जस्ता विविध झाँकीले दर्शकको मन जिते। पासा पुचः गुथि यूकेले ४० जनाको टोलीसहित प्रस्तुत गरेको मौलिक धिमे नाच विशेष आकर्षण बन्यो। बन्टओर्क नेपाली समाजका बालबालिकाले सारंगी र मादलमा दिएको प्रस्तुति दर्शकको मन छोएको थियो। मगर संघ युके ले झाँकी मा लगभग ४०० मगरहरुको सहभागिता रहेको थियो।
झाँकी र नृत्य प्रतिस्पर्धामा उत्कृष्ट पुरस्कार वितरण.
झाँकीतर्फ:
प्रथम स्थान:मगर संघ यूके, द्वितीय स्थान:पासा पुचः गुथि यूके, तृतीय स्थान:किरात याक्थुङ चुम्लुङ यूके
सांस्कृतिक नृत्यतर्फ:
प्रथम स्थान:पासा पुचः गुथि यूके, घिन्ताङ घिसी (लट्ठी नृत्य) द्वितीय स्थान:तनहुँ समाज यूके तृतीय स्थान:किरात याक्थुङ चुम्लुङ यूके
एम्बासडर कप (झाँकी र नृत्य दुवैमा उत्कृष्ट प्रस्तुति):
विजेता:पासा पुचः गुथि यूके
निर्णायक मण्डलमा झाँकीतर्फ डा. रुपक श्रेष्ठ योगराज राई, बिमला सेने, सृजना सुब्बा र नृत्यतर्फ माया गुरुङ, एन्सर्ज तमु सविना गुरुङ, कृष्ण रेउले, कविता घर्तीमगर गुरुङ थिए।
विशिष्ट अतिथिहरूको मन्तव्य
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले २००९ बाट सुरु भएको मेला अहिले नेपाली समुदायको गौरव बनेको बताए। उनले भने, “नेपाली जहाँ जान्छन्, नेपाल पनि साथमा लैजान्छन् भन्ने प्रमाण यही मेला हो।”
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भने, “मेलाले ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ भन्ने भावनालाई प्रतिनिधित्व गरेको छ।” उनले वंशजको नागरिकताको निरन्तरताको विषयमा पूर्ण समर्थन जनाउँदै गोर्खा मागहरू शीघ्र सम्बोधनको आग्रह गरे।
सम्मानित व्यक्तित्वहरू
कार्यक्रममा कुलमान घिसिङ, सांसद बेदप्रसाद गुरुङ, खेलाडी सरिना रानी घले, संगम गुरुङ, कोरियोग्राफर कविता घर्तीमगर गुरुङ, नवीन पोखरेल, ध्रुव अर्याल, नरेन्द्र बस्नेत, मिलन तमु, प्रकाश गुरुङलाई खादा, फेटा र प्रमाणपत्रद्वारा सम्मान गरियो।
व्यवस्थित र आकर्षक आयोजनाको प्रशंसा
तमुधिं यूकेको आयोजनामा सम्पन्न भएको मेलामा ७५ स्टलहरू मार्फत नेपाली खाना, च्यारिटी र व्यवसायिक सामग्रीहरूको विक्री गरिएको थियो। मेला संयोजक उपाध्यक्ष कमल गुरुङले नयाँ पुस्ता र विदेशी समुदायमा नेपाली संस्कृति प्रवर्द्धन गर्न मेलाले ठूलो योगदान दिएको बताए।
आयोजक अध्यक्ष जुमकाजी गुरुङले मेलालाई ऐतिहासिक बनाउने सबैलाई धन्यवाद दिँदै आगामी वर्षहरूमा अझ भव्य बनाउने प्रतिबद्धता जनाए।









तपाइँको प्रतिक्रिया