१५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
बेलायत। नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले आफ्नो १५औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ।
बेलायतको अल्डरसटस्थित एम्पायर हलमा जुलाई १० मा आयोजित विशेष समारोह एफएनजे यूकेकी अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा वरिष्ठ पत्रकार भगिरथ योगी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा एनआरएनए यूकेका संरक्षक डेभिड गुरुङ, नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राई, फोनिज यूकेका अध्यक्ष बम थापा सूर्यवंशी, पूर्वमेयर तथा काउन्सिलर विष्णु गुरुङ र नेपाल प्रहरीका पूर्वडीएसपी शिवजी श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यसैगरी, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमलदेवी गुरुङ, मगर संघ यूकेका उपाध्यक्ष गुमानसिंह थापा, जीआरएनसीकी अध्यक्ष लीला सेलिङ मावोलगायत बेलायतस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
स्थापना दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रमा अनुकरणीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। वरिष्ठ पत्रकार मेजर सोनाम शेर्पालाई ‘वर्ष पत्रकारिता सम्मान–२०२६’ प्रदान गरिएको थियो।
त्यस्तै, अदम्य साहस, दृढ इच्छाशक्ति र प्रेरणादायी योगदानका लागि प्रतिष्ठित पर्वतारोही, उत्प्रेरक वक्ता तथा अपाङ्गता अधिकार अभियन्ता डा. हरि बुढा मगरलाई विशेष सम्मान गरिएको थियो।
नेपाली कला, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनका साथै साहित्यिक सिर्जना तथा अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुर्याएबापत युनिभर्सल पिस फेडेरेसन यूकेकी अध्यक्ष तथा साहित्यकार डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’लाई पनि सम्मान गरिएको थियो।
समारोहमा पत्रकार गोमा रानामगर, उपाध्यक्ष प्रमिला लाबुङ राई तथा सचिव मञ्जु भण्डारी खरेलले क्रमशः मेजर सोनाम शेर्पा, डा. हरि बुढा मगर र डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’को व्यक्तित्व तथा योगदानबारे प्रकाश पार्नुभएको थियो।
सोही अवसरमा विभिन्न क्षेत्रमा उपलब्धि हासिल गरेका एफएनजे यूकेका पदाधिकारी तथा सदस्यहरूलाई पनि सम्मान गरिएको थियो। विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्नुभएका साहित्यकार, समाजसेवी तथा एफएनजे यूकेका केन्द्रीय प्रतिनिधि डा. दूत पुन ‘चिम्खोले काइँला’लाई सम्मान गरिएको थियो।
त्यस्तै, एनआरएनए आईसीसीको उपाध्यक्षमा निर्वाचित हुनुभएका संस्थाका सचिव विश्वास दीप तिगेला र गुल्मी समाज यूकेको अध्यक्षमा निर्वाचित हुनुभएकी सचिव मञ्जु भण्डारी खरेललाई अध्यक्ष विमला सेनेले खादा ओढाएर सम्मान गर्नुभएको थियो।
कार्यक्रमलाई आर्थिक तथा भौतिक रूपमा सहयोग पुर्याउने प्रायोजकहरूका साथै नेपालबाट बेलायत आएका आमन्त्रित कलाकार शिवदास गुरुङ, अस्मिता रानामगर र गायक राजेन्द्र केरुङलाई पनि सम्मान गरिएको थियो।
शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि वरिष्ठ पत्रकार भगिरथ योगीले संस्थाभित्र असन्तुष्ट रहेका पत्रकारहरूलाई समेत समेटेर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
एनआरएनए यूकेका संरक्षक डेभिड गुरुङले आगामी दिनमा स्थापना दिवसको कार्यक्रम लन्डनस्थित नेपाली दूतावासमा आयोजना गर्न सुझाव दिनुभयो।
नेपाल प्रहरीका पूर्वडीएसपी शिवजी श्रेष्ठले पत्रकारिताको गरिमा जोगाउन वास्तविक र व्यावसायिक पत्रकारलाई मात्र सदस्यता वितरण गरिनुपर्ने धारणा राख्नुभयो।
सम्मानित व्यक्तित्व डा. दूत पुन ‘चिम्खोले काइँला’ले बेलायतमा कार्यरत पत्रकारहरूलाई थप व्यावसायिक बनाउन विभिन्न संघसंस्थाका अगुवाहरूलाई सहयोगका लागि आग्रह गर्नुभयो।
अध्यक्ष विमला सेनेले संस्थालाई अमूल्य सल्लाह र सुझाव प्रदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
संस्थाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम महासचिव खेमराज रानाभाटले सञ्चालन गर्नुभएको थियो। सचिव विश्वास दीप तिगेलाले देश–विदेशबाट प्राप्त शुभकामना सन्देशहरू वाचन गर्नुभएको थियो।
औपचारिक कार्यक्रमका बीच नेपालबाट आएका कलाकार शिवदास गुरुङ, अस्मिता रानामगर र गायक राजेन्द्र केरुङले सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुतिले समारोहलाई थप सांगीतिक, रोचक र उल्लासमय बनाएको थियो।









तपाइँको प्रतिक्रिया