• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

  •   ११ श्रावण २०८३, सोमबार १०:१५ 
  • मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न

    बम थापा सूर्यवंशी
    लन्डन, शनिबार, २५ जुलाई २०२६।
    प्रवासमा रहेका नेपाली समुदायबीच कला, संस्कृति र एकताको सन्देश फैलाउने उद्देश्यले मगर संघ युकेद्वारा आयोजित १८औँ नेपाली ओपन कन्सर्ट–२०२६ बेलायतको लन्डनस्थित रसमर एरिना मा हजारौँ नेपालीहरूको उल्लेखनीय उपस्थितिका बीच भव्य रूपमा सम्पन्न भएको छ। “Music for Unity” भन्ने मूल नारासहित आयोजना गरिएको खुला सांगीतिक महोत्सवमा बेलायतभरिका नेपालीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई ऐतिहासिक बनाएको थियो।

    यस वर्षको मुख्य आकर्षणका रूपमा भारतको दार्जिलिङबाट आएको चर्चित नेपाली रक सांगीतिक समूह ‘मन्त्र ब्यान्ड’ ले आफ्नो सशक्त प्रस्तुति दिएर सम्पूर्ण दर्शकलाई झण्डै तीन घण्टासम्म नचाएको थियो। ब्यान्डले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा हजारौँ दर्शकहरू गीतसँगै स्वर मिलाउँदै नाचेका, गाएका र मनोरञ्जन लिएका थिए। कार्यक्रमस्थल केही समयका लागि नेपाली संगीतमय वातावरणमा परिणत भएको थियो।

    ब्यान्डका मुख्य गायक भास्कर देवान, लिड गिटारिस्ट प्रज्ञा लामा, बेस गिटारिस्ट प्रभाष सुब्बा, किबोर्ड वादक मनिष थापा, ड्रमर बिर्जु चौधरी (ब्रिज) तथा फ्लुट र साक्सोफोन वादक विधान ले प्रस्तुत गरेको उत्कृष्ट सांगीतिक संयोजनले दर्शकको मन जित्न सफल भयो। विशेष गरी युवापुस्तादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका दर्शकहरू मन्त्रमुग्ध बनेका थिए।

    कार्यक्रममा नेपालबाट विशेष निमन्त्रणामा बेलायत आउनुभएकी चर्चित गायिका निता थापा मगर ले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकको भरपुर साथ पाउनुभयो। उहाँको प्रस्तुतिमा दर्शकहरू लामो समयसम्म झुमिरहेका देखिन्थे।

    त्यसैगरी ‘द भोइस अफ नेपाल’ सिजन–७ की सेकेन्ड रनरअप पुनम गुरुङ तथा सिजन–३ का सेमिफाइनलिस्ट गोबिन पुन ले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। उनीहरूको प्रस्तुतिले दर्शकबाट निरन्तर ताली र प्रशंसा पाएको थियो।

    लोकदोहोरी संगीततर्फ सम्झना भण्डारी, सबिना बुढा मगर, रुपी सिञ्जाली मगर, बिमता घर्ती मगर, राजेन्द्र घर्ती मगर तथा निरुता पुन मगर ले पालैपालो आफ्नो प्रस्तुति दिँदै नेपाली लोकसंस्कृतिको मिठास दर्शकसामु पस्किएका थिए।

    नृत्यतर्फ मगर गट ट्यालेन्ट–८ का विजेता एलिसा पुन मगर र प्रतिमा पुन मगर, साथै नेपालबाट विशेष रूपमा सहभागी कलाकार सरिष्मा राम्जाली मगर र अस्मिता राना मगर ले मौलिक मगर संस्कृति झल्किने आकर्षक नृत्य प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिले नेपाली संस्कृति र परम्परालाई प्रवासमा समेत जीवन्त राख्न सफल भएको अनुभूति दर्शकले गरेका थिए।

    कार्यक्रम सञ्चालनको जिम्मेवारी चर्चित गायक पवन राना मगर, मिस नेपाल युके–२०१२ विजेता दुर्गा गुरुङ तथा मगर गट ट्यालेन्ट–२०२४ का विजेता मिल्कन थापा मगर ले संयुक्त रूपमा सम्हालेका थिए। उनीहरूको सहज र आकर्षक प्रस्तुतीकरणले कार्यक्रमलाई थप व्यवस्थित र रोचक बनाएको थियो।

    औपचारिक समारोह सम्पन्न
    मगर संघ युकेका अध्यक्ष लालबहादुर पुन मगर (लालु) को अध्यक्षतामा सम्पन्न औपचारिक समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी हुनुहुन्थ्यो भने रसमर बोरो काउन्सिलका उपमेयर जीव बेलवासे विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

    कार्यक्रममा मगर संघ युकेका उपाध्यक्ष तथा प्रमुख संयोजक गुमानसिङ थापा मगर ले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कलाकार, स्वयंसेवक, प्रायोजक तथा नेपाली समुदायप्रति आभार व्यक्त गर्नुभयो।

    प्रमुख अतिथि विपिन दुवाडी ले प्रवासमा नेपाली कला, भाषा र संस्कृतिको संरक्षणमा मगर संघ युकेको योगदान प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

    विशेष अतिथि जीव बेलवासे ले नेपाली समुदायको एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधताको खुलेर प्रशंसा गर्दै यस्ता कार्यक्रमले बहुसांस्कृतिक समाजलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

    औपचारिक कार्यक्रमको सञ्चालन मगर संघ युकेका महासचिव गोमन पुन मगर ले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमको संयोजन सांस्कृतिक सचिव नुनु पाइजा मगर ले गर्नुभएको थियो।

    विशिष्ट व्यक्तित्वहरूको उपस्थिति
    कार्यक्रममा बेलायतका विभिन्न नेपाली संघ–संस्था, सामाजिक अभियन्ता, व्यवसायी, पत्रकार, कलाकार तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस अवसरमा तामु धी युकेका अध्यक्ष जुम्काजी गुरुङ दम्पतीसँग पत्रकार बम थापा सूर्यवंशी ले भेटघाट गर्नुभएको थियो। कार्यक्रममा उपस्थित विभिन्न समुदायका प्रतिनिधिहरूले नेपालीहरूको एकता र सहकार्यलाई अझ मजबुत बनाउन यस्ता सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

    धन्यवाद ज्ञापन
    कार्यक्रमको समापन गर्दै मगर संघ युकेका अध्यक्ष लालबहादुर पुन मगर (लालु) ले कार्यक्रमलाई ऐतिहासिक रूपमा सफल बनाउन योगदान पुर्‍याउने मन्त्र ब्यान्ड, नेपालबाट आउनुभएका कलाकारहरू, बेलायतस्थित कलाकार, प्रायोजक, स्वयंसेवक, सञ्चारकर्मी, सुरक्षा निकाय तथा कार्यक्रममा सहभागी सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
    उहाँले आगामी वर्षहरूमा पनि नेपाली कला, संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई अझ व्यापक र भव्य रूपमा निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व

    लन्डन। बेलायतको केम्पटन पार्क रेसकोर्स आइतबार नेपाली कला, संस्कृति, भेषभूषा र मौलिक परम्पराले रंगिएको छ। तमु धीं एसोसिएसन यूकेद्वारा...


    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने

    • लखन थापा मगर मेमोरियल गल्फमा १३८ खेलाडी र २२ टिम भिड्दै
    • मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    • जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    • नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    संबन्धित समाचारहरु

    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने
    लखन थापा मगर मेमोरियल गल्फमा १३८ खेलाडी र २२ टिम भिड्दै
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य