निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
सेकेन्ड गोर्खा राइफल्सको ऐतिहासिक समारोहमा विशेष सांगीतिक प्रस्तुति
अल्डरसट, बेलायत — १३ सेप्टेम्बर २०२६ नेपाली लोकसंगीत तथा लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका बिमता घर्ती मगरले अल्डरसटस्थित एम्पायर हलमा आयोजित सेकेन्ड गोर्खा राइफल्स एसोसिएसन यूके (सिरमूर साथीहरू) को ऐतिहासिक वार्षिक समारोहमा विशेष सांगीतिक प्रस्तुति दिनुभएको छ।
एसोसिएसनका अध्यक्ष भूतपूर्व क्याप्टेन राजु गुरुङको अध्यक्षतामा आयोजित समारोहमा १६९औँ डेल्ही दिवस, ११०औँ टिग्रिस दिवस, ८१औँ तामान्दु दिवस तथा सेकेन्ड गोर्खा राइफल्सको २११औँ रेजिमेन्ट जन्मदिवस मनाइएको थियो।
समारोहका प्रमुख अतिथि लेफ्टिनेन्ट जनरल सर पिटर डफेल केसीबी, सीबीई, एमसी तथा लेडी एनी हुनुहुन्थ्यो। कार्यक्रममा रेजिमेन्टका वरिष्ठ अधिकृत, भूतपूर्व सैनिक तथा उनीहरूका परिवारजनको उल्लेख्य सहभागिता थियो।
औपचारिक कार्यक्रमपछि गायिका घर्ती मगरले आफ्ना सांगीतिक प्रस्तुतिमार्फत सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुभयो। उहाँको विशिष्ट स्वर र आकर्षक प्रस्तुतिलाई दर्शकहरूले उत्साहपूर्वक स्वागत गर्दै माया, हौसला र सम्मान प्रदान गरेका थिए।
घर्ती मगरका ‘जाम साइँली’ र ‘फूला हजारा’ दर्शक तथा श्रोताले सबैभन्दा धेरै सुनेका र रुचाएका गीतमा पर्छन्। उहाँका ‘कृष्णजीको मुरली’, ‘लुकी लुकी’, ‘राम्री साली छ’, ‘तीजको बेला’, ‘रोल्पाली नानी’, ‘झ्याँकै सत्यानाश’ र ‘औधी राम्रो छौ’लगायत गीत पनि सार्वजनिक भएका छन्। उहाँले खेम सेन्चुरीलगायत विभिन्न चर्चित कलाकारसँग सांगीतिक सहकार्य गर्नुभएको छ।
यस अवसरमा घर्ती मगरले सेकेन्ड गोर्खा राइफल्सको गौरव, वीरता र सैनिक परम्पराको पवित्र प्रतीक मानिने क्वीन्स ट्रन्चन अर्थात् ‘निशानी माई’को दर्शन तथा सम्मान गर्ने दुर्लभ अवसरसमेत प्राप्त गर्नुभयो।
परम्परागत मगर पोसाकमा सजिनुभएकी उहाँले निशानी माईसमक्ष हात जोडेर शिर निहुराउँदै श्रद्धा अर्पण गर्नुका साथै त्यससँग स्मरणीय तस्बिर खिच्नुभयो।
निशानी माईलाई सामान्य अवस्थामा सार्वजनिक रूपमा बाहिर ल्याइँदैन। सेकेन्ड गोर्खा राइफल्सका विशेष तथा औपचारिक समारोहमा मात्रै कडा सैनिक अनुशासन, सुरक्षा र सम्मानका साथ बाहिर ल्याइने भएकाले यसको दर्शन गर्नु र नजिकबाट तस्बिर खिच्न पाउनु ठूलो सौभाग्य मानिन्छ।
बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका धेरै नेपालीले समेत निशानी माईको दर्शन र तस्बिर खिच्ने अवसर पाएका छैनन्। त्यसैले गायिका घर्ती मगरका लागि यो एउटा सामान्य तस्बिर नभई गोर्खा पुर्खाहरूको इतिहास, वीरता र बलिदानसँग जोडिएको गौरवपूर्ण तथा अविस्मरणीय क्षण बनेको छ।
कार्यक्रममा निशानी माईप्रति शाही सलामी अर्पण गर्नुका साथै नेपाल र बेलायतका राष्ट्रिय गान बजाइएको थियो। डेल्ही, टिग्रिस, तामान्दु तथा अन्य युद्धमा जीवन बलिदान गर्ने वीर पुर्खा र सहयोद्धाहरूको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो।









तपाइँको प्रतिक्रिया