• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

दुर्घटनामा ज्यान गुमाएका को–पाइलट सन्तोष रानाको ‘सिर्जना र सम्झना’

  •   २ बैशाख २०७६, सोमबार ००:११ 
  • को–पाइलट सन्तोषको रानाको सिर्जना र सम्झना

    काठमाडौँ चैत्र २८ गते, पाइलट तथा गीतकार सन्तोष रानाको गीति एल्बम ‘सिर्जना र सम्झना’ प्रमुख अतिथि प्रतिनिधि सभाका
    सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलबाट लोकार्पित भयो ।पारिवारिक रूपले आयोजना गरिएको लोकार्पण समारोहको सुरुमा सन्तोष रानाका दाजु तथा एल्बमका निर्माता प्रकाश रानाले स्वागत मन्तव्य राखेका थिए । भाइ केवल भाइको रूपमा मात्र नभएर आफ्नो बाल्यकालदेखिको साथीसमेत भएको कुरा राख्दैप्रकाश सन्तोषको यादमा निक्कै गम्भीर बनेका थिए । बोल्दाबोल्दै सम्हालिन नसकेका प्रकाशलाई देख्दा दर्शकहरू पनि गम्भीर बनेका थिए ।

    त्यसपछि सन्तोषका बाबा प्रतिनिधि सभाका सदस्य तथा निवर्तमान भूमिसुधार मन्त्री दलबहादुर रानाले प्रमुख अतिथि माननीय विष्णु पौडेल र अन्य विशिष्ट अतिथिहरूलाई खादाले स्वागत गरेका थिए । स्वागतपछि प्रमुख अतिथि पौडेलले सन्तोष रानाको ‘सिर्जना र सम्झना’ गीतिएल्बम लोकार्पण गरेका थिए ।  लोकार्पणलगत्तै एल्बमको एक नम्बरमा रहेको गीत ‘तिमी हाँसेको देख्दा’को म्युजिक भिडियो प्रमुख अतिथिले नै माउस क्लिक गरेर सार्वजनिक गरेका थिए । सो म्युजिक भिडियोमा सनम कठायत र नतशा ब्लोनको भूमिका रहेको छ । दोस्रो म्युजिक भिडियो ‘धर्तीमा हुँदा’को सार्वजनिकसँगै सबै दर्शकहरू गम्भीर बने । सन्तोषका बाबाआमा, आफन्त, विशेष अतिथिलगायत समारोहमा उपस्थित अधिकांशका आँखा रसाएका थिए । सन्तोषको जहाज दुर्घटनाको मार्मिक विषय बोकेको यस म्युजिक भिडियोमा सन्तोषकै बाबा दलबहादुर राना र आमा यामकुमारी रानाको पनि भूमिका रहेकाले भिडियो झन् मार्मिक बनेको छ । सन्तोषको बाल्यकालको भूमिकामा विमोचन झाँक्रीमगर, दाजु प्रकाश रानाको भूमिकामा सरगम पुन रहेका छन् भने मुख्य भूमिकामा सनम कठायत छन् । क्याप्टेन दिनेश न्यौपानेको भूमिकामा टेकेन्द्र शाह रहेका छन् ।


    म्युजिक भिडियोहरूको सार्वजनिकीकरणपछि प्रखुम अतिथि माननीय विष्णु पौडेलले एल्बम र म्युजिक भिडियोसँग जोडिएका
    सबै कलाकार र प्राविधिकहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए । त्यसपछि मन्तव्य राख्दै पौडेलले आफू राना परिवारसँग धेरै
    नजिक रहेको र सन्तोषको कला, गीतसङ्गीत र साहित्यप्रतिको लगावले आफूलाई पनि प्रभावित पारेको कुरा राखेका थिए ।सन्तोषजस्ता राष्ट्रका असल सपुतहरूका कृतिहरूले देश र समाजलाई मार्गदर्शन गरिहरहने कुरा पनि राखेका थिए । पौडेलको
    मन्तव्यपछि एल्बमका तीनवटा अडियो गीत बजाएर सार्वजनिक गरियो । त्यस बीचमा कार्यक्रम सञ्चालक भावेश भुमरीले सन्तोष र प्रकाशसँगका विगतका सन्दर्भहरू कोट्याए ।

     

    यस एल्बमका तीनवटा भिडियो निर्देशन गरेका भुमरीले बाँकी तीनवटा भिडियोमा पनि सनम कठायतकै भूमिका रहने कुरा राखे । यस्तो गर्नुको कारण प्रष्ट्याए, सन्तोषको ठाउँमा फरक फरक कलाकार नदेखियोस् । भुमरीले सन्तोषको एउटा अमर कृति बनाउन एल्बमको स्तरमा बढी ध्यान दिएको कुरा पनि प्रष्ट्याए । कार्यक्रमको अन्त्यतिर मन्तव्य राख्दै दलबहादुर रानाले छोरा सन्तोषको बाल्यकालदेखि दुर्घना र त्यसपछि छोराको नाममा गरिँदै आएका परोपकारी कार्यहरूका बारेमा चर्चा गरे । सन्तोषको नाममा दुईवटा स्कुलमा अक्षयकोषको व्यवस्था गरी गरिब विद्यार्थीहरुलाई छात्रवृति दिँदै आएको जानकारी गराए । सन्तोषलाई पढाउँदाका दुःख र जागिर नपाउँदाका पीडा पनि स्मरण गरे । एक छोरा युके, अर्को छोरा पाइलट कति सुखी परिवार थियो भन्दै विगत सम्झिँदै भावुक बने । अहिले सन्तोषको नाममा सामाजिक र परोपकारी कार्यहरू गर्दा सन्तोषकै सम्झनाले धेरै गाह्रो हुने, नगर्दा सबैले बिर्सेलान् कि भन्ने पीर लाग्ने कुरा पनि राखे ।

     


    कार्यक्रमको अन्तिममा सन्तोष रानाकै रचना ‘तिम्रो उचाइ’ गीतको म्युजिक भिडियो सार्वजनिक गरियो । जसमा सनम कठायत र पूजा सिलवालको भूमिका छ । तीनवटै म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । सन्तोष रानाको जन्म वि. सं. २०४४ साल कात्तिक १३ गते दलबहादुर राना र यामकुमारी रानाको कान्छो छोराको रूपमा पाल्पाको रामपुरमा भएको थियो । जनविकास उच्च मा. वि. पाल्पाबाट औपचारिक शिक्षा सुरु गरेका सन्तोषले अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगर, काठमाडौँबाट एसएलसी उत्तीर्ण गरी एनआईएसटी, लैनचौर र रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौँबाट उच्च शिक्षा हासिल गरेका थिए । पाइलट बन्ने लक्ष्यका साथ सन्तोषले शिवानी एयर पाइलट तालिम चितवन, वल्र्ड सिटी कलेज फिलिपिन्स र अमेरिकाबाट पाइलटसम्बन्धी औपचारिक शिक्षासहित तालिम पनि लिएका थिए ।

    २०६२ साल वैशाखदेखि एयर काष्ठमण्डपको जहाज उडाउन थालेका सन्तोष २०७२ साल फागुन १४ गते शुक्रबार, कालिकोटको चिलखायामा सो एयरको जहाज दुर्घटनामा क्याप्टेन दिनेश न्यौपानेसँगै स्वर्गीय भएका थिए । त्यस दुर्घटनामा दिनेश र सन्तोषले बडो सहासका साथ सबै नौजना यात्रुहरूको ज्यान बचाएका थिए । नेपाल सरकारबाट मरणोपरान्त वीरता पदक २०७२ प्राप्त गरेका सन्तोषको यो पहिलो एल्बम प्रकाशन भएको हो ।


    तीक्ष्ण बुद्धिका सन्तोष सानैदेखि कला, साहित्य, सङ्गीत र खेलकुदमा रुचि राख्थे । स्कुल पढ्दादेखि नै गितार र मादल बजाएर गीत गाउने सन्तोषको आधुनिक गीत गायनमा रुचि थियो । सन्तोषकै स्वरमा केही पुराना कभर गीत र केही नयाँ खालका गीत पनि युटुबमा हेर्नसुन्न पाइन्छन् । दाजु प्रकाश रानाले एल्बम निकालिदिने कुरा गर्दा आफैँ कमाएर आफ्नो पैसाले निकाल्ने इच्छा राखेका सन्तोषले केही गीत र कविताहरू रचेका थिए । सन्तोषले रचेका तीनवटा र गीतकार भावेश भुमरीले रचेका सन्तोषसम्बन्धी तीनवटा गरी छ वटा गीतको एल्बम हो ‘सिर्जना र सम्झना’ । सन्तोषका तीनवटै गीत मायाप्रेमका विषयमा छन् । ‘तिमी हाँसेको देख्दा’ र ‘तिम्रो उचाइ’ दुई गीतमा वरिष्ठ सङ्गीतकार दिनेश सुब्बाले सङ्गीत दिएका छन् भने क्रमश गायकहरू थुप्देन भुटिया र कर्मग्याल्छेन बम्जनले गाएका छन् । सन्तोषकै रचनाको ‘धिपधिप बत्तीसँग’ गीतमा दार्जिलिङका ख्यातिप्राप्त सङ्गीतकार प्रदीप क्षेत्रीले सङ्गीत भरेका छन् । यस गीतमा निखिता थापाको स्वर रहेको छ ।


    सन्तोष रानाकै जीवनको अन्तिम घटनाको विषय बोकेको ‘धर्तीमा हुँदा’ गीतमा पविधन खालिङको सङ्गीत रहेको छ भने यस गीतलाई महेश सेवाले गाएका छन् । बाबाआमाले सन्तोषलाई सम्झेको विषय बोकेको ‘जन्म दिएँ तिमीलाई’ गीतमा रोशनराज गुरुङको सङ्गीत छ भने कृष्णभक्त राई र बानिका प्रधानको स्वर रहेको छ । दाजु प्रकाश रानाले भाइलाई सम्झेको विषय बोकेको ‘तिमीलाई सधै’ गीतलाई केशव पौडेलले सङ्गीत दिएका छन् भने स्वरूपराज आचार्यले गाएका छन् ।

    नोर्बु शेर्पा, चाँद सिंह, विष्णु अधिकारी र कुमार थापाका सङ्गीत संयोजन रहेका यी गीत ह्वाइट साउन्ड स्टुडियो अनामनगर, काठमाडौँमा रेकर्ड गरिएका हुन् । सबै गीत मनोज परियारले रेकर्ड गरेका हुन् भने मिन बिष्ट र मनोज परियारले सम्पादन गरेका हुन् । अनिल स्थापितले आवरण डिजाइन गरेको यस एल्बमलाई सुरप्रभा गीत सङ्गीत प्रा. लि.ले बजार व्यवस्थापन गरेको छ । यस एल्बमका सबै गीतका म्युजिक भिडियोहरु सुरप्रभा गीत सङ्गीत प्रा. लि. युटुवच्यानलबाटै सार्वजनिक गरिँदै छन् ।

     

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य