सपनाको सहरमा कृष्णकला र घायल
८ मार्च, लण्डन । गीतकार तथा मुक्तककार कृष्णकला वनेम र जगतराम बर्देवा ‘घायल’को संयुक्त मुक्तकसङ्ग्रह सपनाको सहरको हालै बीएफबीएस रेडियो, काठमाडौँको आयोजनामा विमोचन गरिएको छ ।
बीएफबीएस रेडियोको स्वर्णिम सङ्गम कार्यक्रमका प्रस्तोता तुलसी बस्नेतले साे कार्यक्रमको सुरुमै विमाेचित पुस्ततकका स्रष्ठा कृष्णकला वनेम र जगतराम बर्देवाको परिचय दिएका थिए भने साहित्यार भावेश भुमरीले सपनाको सहर मुक्तकसङ्ग्रहको संक्षिप्त चर्चा गरेका थिए । भुमरीले भने, ’मुक्तककारद्वाय वनेम र बर्देवाका मुक्तकहरू विदेशी पीडाबाट सिर्जित सिर्जना हुन् । विषयवस्तु र अनुभूतिका दृष्टिले सबै मुक्तक मुक्तककारहरूका देश छोड्दाका विशेष अनुभूति हुन् । मुक्तकहरूमा मायाप्रेमका विविध पक्षलाई उठान गर्दागर्दै पनि विदेश पीडाका विषय बग्रेल्ती प्रस्तुत भएका छन् । देशका विकृति र विसङ्गतिप्रति पनि धेरै मुक्तकहरूले कटाक्ष गरेका छन् । सरल शब्द र शैलीमा धेरै कुरा भन्न सक्नु मुक्तककारहरूको सफता हो । मुक्तकहरू रोचक र घोचक बन्नु यसको विशेषता हो । मुक्तककारद्वाय वनेम र बर्देवा यस पक्षमा निक्कै सफल देखिन्छन् । थोरैमा धेरै कुरा भन्न सफल छन् सपनाको सहर कृतिका मुक्तककारहरू ।‘ इजरायलका कार्यरत मुक्तककार कृष्णकला वनेमले आफूले सिर्जनातिर लाग्नु नै वैदेशिक रोजगारीमा भोग्नुपरेका एक्लोपना, स्वदेश, परिवार र संस्कृति प्रेम हुन् भन्दै सायद स्वदेशमै बसेको भए आफू लेखनमा लाग्ने अवस्था नहुने कुरा बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै हङकङमा कार्यरत गीतकार विशु समले कृष्णकला र जगतरामका मुक्ताहरू एकदमै स्तरीय भएका कुरा प्रस्ट्याए । वैदेशकि रोजगारीकै क्रममा कतारमा कार्यरत मुक्तककार जगतराम बर्देवा भने कार्यक्रममा उपस्थित हुन सकेनन् । उनका मुक्तकहरूका बारेमा आफ्ना विचार राख्दै भुमरीले भने, ‘बर्देवाले देशका विकृति र विसङ्गतिका विषयहरूलाई पनि प्राथमिकताका साथ प्रस्तुग गरेका छन् ।’ मुक्तककार बर्देवाका केही मुक्तक भावेशले नै वाचन गरी सुनाएका थिए । कार्यक्रम अवधिभर कृष्णकला वनेमद्वारा रचित पाँचवटा गीत बजाइएको थियो भने गीतकार भावेश भुमरीका दुई गीत र विशु समका एक गीत पनि बजाएर स्रोताहरूलाई मनोरञ्जन दिने काम गरिएको थियो ।

प्रस्तोता तुलसी बस्नेतका विभिन्न प्रश्नहरूको उत्तर दिँदै आफ्ना मुक्तकहरू वचन गर्ने क्रममा मुक्तककार कृष्णकला वनेमले आफूले बाबा, ससुरा, सासू र श्रीमान् गुमाउँदाका विषयलाई मुक्तकहरूमा समावेश गरेको भन्दै विशेषतः आफ्ना स्वर्गीय श्रीमान् बाबुराम कन्दङ्वाको स्मरणमा मुक्तक वाचन गरिन् । वनेम त्यतिबेला निक्कै भावुक पनि बनिन् । आफ्ना मुक्तकहरू सुन्दर शैलीमा बाचन गर्दै कृष्णकलाले आफू एक असल मुक्तक स्रष्टामात्र नभएर वाचक पनि भएको कुरा देखाइन् । कार्यक्रमको अन्त्यतिर तपाई. के भन्न चाहनुहुन्छ भन्ने प्रस्तोता बस्नेतको उत्तर दिँदै वनेमले आफ्ना मुक्तकहरू पढेर प्रतिक्रिया दिन अनुरोध गरिन् । कार्यक्रमको अन्त्यमा राम्रा कृति पनि बिक्री हुन नसक्दा स्रष्ठाहरूको मेहनत र लगानीको मूल्याङ्कन हुन सकेको छैन भन्दै भुमरीले साहित्यका पाठकहरूले कृतिहरू किनेर पढिदिएमा स्रष्ठाहरू अरू कृति लेख्न र प्रकाशन गर्न पछि नपर्ने कुरा बताए ।

विमोचित यस सपनाको सहर मुक्तकसङ्ग्रहमा दुवै मुक्तककारका तीन तीन सय गरी छ सय मुक्तकहरू सङ्गृहित छन् । यस पुस्तकलाई स्वयम् कृष्णकला वनेमले प्रकाशन गरेकी छन् भने साहित्यकार भावेश भुमरीले भाषासम्पादन गरेका छन् । यस कृतिको आवरण भने जीवित खड्कामगरले बनाएका छन् ।
समाजसेवामा पनि उत्तिकै लागीपर्ने कृष्णकला वनेमले नेपालका दुर्गम गाउँगाउँका पुस्तकालयहरूलाई ठूलो मात्रामा पुस्तकहरू प्रदान गर्दै आएको साब्लाबुङ पुस्तकालय अभियानलाई २०० प्रति सपनाको सहर पुस्तक प्रदान गरेकी छन् । यस पुस्तकालय अभियानका अध्यक्ष राजकुमार राई हुन् भने सचिवमा भावेश भुमरी रहेका छन् ।











तपाइँको प्रतिक्रिया