• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

सुन्तलीको युकेमा घर किन्ने सपना

  •   ४ कार्तिक २०७७, मंगलवार ०७:१३ 
  • कथा
    गोमा रानामगर
    सुन्तली एक साधारण परिवारमा जन्मे हुर्केकी। उनका बाबाले छोराछोरीलाई पढाउनु पर्छ भनी दुवैलाई स्कुल पठाउँछन्। स्कुल जाने क्रममा घर परिवारले त शुरुमा एउटै समय दिन्छन् छोरा र छोरीलाई । तर ठूलो हुँदै जाँदा छिमेकीहरुले कुरा गर्न थाले – ‘छोरी ठूली भई अब बिहे गरिदिनु पर्छ’, ‘छोरीलाई धेरै पढाउन हुँदैन’। गाउँलेहरुको यस्तो दिन प्रतिदिनको कुरा सुनेपछि सुन्तलीको आमालाई पनि ‘ए गाउँलेहरुले भनेको ठिकै पो हो कि’ भनी छोरीको बिहेको कुरा गर्छन् सुन्तलीको बुबासँग। ‘गाउँलेले जे भने पनि हाम्री छोरीको अहिल्यै बिहे गर्नु हुँदैन गलत हो’ भन्न पनि सक्दैनन् उनीहरु । किनकी बाबाआमा नै शिक्षित छैनन् र शिक्षाको महत्त्व त्यति बुझ्न पनि सक्दैनन् । जे होस छोरीलाई स्कुल चाहिँ पठाएछन्।

    एकदिन सुन्तलीलाई माग्न एकजना पेन्सनवाला लाहुरे आउँछन्। कुरा अगाडि बढ्दै जान्छ र सुन्तलीको बाबाआमा बिहे गराइ दिन राजी हुन्छन्। कुरा छिनेपछि बल्ल सुन्तलीलाई कुरा सुनाउँछन्। कुरा छिनेको पनि कति छिटो खसी बोकाको मोल छिने जत्तिकै । सुन्तली छानाबाट खसे जस्तै हुन्छिन् ।एसएलसी पास गरेपछि त्यहीँ स्कुलको प्राथमिक तहका नानीहरुको शिक्षिका बन्ने खुब रहर थियो। तर उनको बिहे हुने पक्का भएपछि यो सबै सपना जस्तै भयो। हाम्रो समाजमा कहिलेसम्म यस्तो प्रक्रिया चलिरहने होला कुन्नि ? के हामीले छोराहरुले जस्तो पढ्न पाउने, आफ्नो कुरा खुलस्त राख्न पाउने, गाउँले छरछिमेकमा छोरीहरुलाई धेरै पढाउनु पर्छ भन्ने सोच कहिले बदल्न सक्ने होला ?

    सुन्तलीको बिहे हुन्छ। नयाँ घरमा जान्छिन्। सबै नौलो हुन्छ। सानो परिवारबाट ठूलो परिवारमा जाँदा सुरु सुरुमा हेलमेल हुन खुब गाह्रो भयो। उनको श्रीमान् बेलायत फर्किन्छन्। साँच्चिकै एउटा नारीले केही वर्षको दौरानमा माइती र घरको परिचय, नातामा पनि एकबाट अनेक नातामा जोडिनु पर्ने। अनेकौं बाधामा पनि संघर्ष गर्नसक्ने, सन्तान बढाउन सक्ने भएर नै होला नारीलाई सहनशील, ममतामयी महान नारी भनिएको। सबै काम सकेर राति अबेला सुत्न जाने सुन्तली थकाइले भित्तामा सजाइएका तस्वीर राम्रोसँग नियालेर हेर्न नपाउँदै फुस्स निदाइ हाल्थिन्। तर एक रात उनको आँखा भित्ताको तस्वीरमा पर्छ । उनको श्रीमानको तस्वीर । छातीभरि थुप्रै मेडल । राम्रो काम गर्दा, लडाइँमा जाँदा बहादुरी मेडल तक्मा पाउने कुरा सुनेकी थिइन्। उनको मनमा कता कता सुखको महसुस हुन्छ कि उनको श्रीमानको छातीभरि यत्तिका तक्मा देखेर ठूलो पदका होलानु सायद। श्रीमानकोमा गए भने सुखसँग बस्न पाउनेछु भनी अनेकौं मीठो कल्पनामा निदाउँछिन्।

    बिहे भएको दुई वर्षपछि सुन्तली पनि बेलायत जाने पक्का हुन्छ। पहिलोपटक जहाज चढेकी उनलाई डर पनि लाग्छ तर साथमा चिनेकै मान्छेसँगको यात्राले केही हद सहज चाहिँ हुन्छ। जहाजमा त्यति लामो यात्रामा उनी के के सपना बुन्छिन्। शायद टोपी बुनेको भए सिद्दिने थियो। उनी विमान स्थलमा ओर्लिन्छन् । त्यहाँ उनको श्रीमान् लिन आएका हुन्छन् । सुन्तलीलाई भने असाध्यै लाज लागेर आउँछ । नआओस् पनि कसरी बिहेको केही दिनमै छुट्टिए पछि के थाहा उनको आनीबानी । थाहा थियो त बरु श्रीमानको परिवारको।

    उनको लजालु स्वभावले धेरै खुलेर बोल्न, नजिकिन पनि सकेकी थिइनन्। श्रीमान धेरैजसो रातिको काम दिनमा सुत्ने । त्यही दिनमा सुतेको बेलामा सुन्तली आफ्नो श्रीमानलाई अघाउन्जेल हेरिरहन्थिन्। मकै, भटमास, मोहीसँग खाँदा पेट भरेजस्तै। बिस्तारै बाहिर जाने पार्टीमा जाने गर्दागर्दै साथीहरु पनि बढ्दै गए । उनीहरुको लवाइखवाइ पहिरन देखेर सुन्तलीको मन न हो त्यस्तै गरगहना लुगामा सजिन मन लाग्छ। उनको चाहना विस्तारै श्रीमानलाई सुनाउँछिन् । सुन्तलीको कुरा सुनेर सुखाराम एकछिन घोरिन पुग्छन् । सुखारामको ऋण (कोरल र घोडा रेसमा लागेको) घरको बहाल तिरेर कति नै बच्थ्यो र ! सुरुमा सुन्तलीलाई आफ्नो घर ठूलो देखेर मख्ख परेकी थिइन् तर पछि बुझ्दा त्यस्तो थिएन । खाली एउटा कोठा भाडामा बसिएको थियो। के थाहा त गाउँमा एउटै घरमा अर्को परिवारसँग त्यसरी भान्साघर नुहाउने ठाउँ मिलेर चलाएको अनुभव भए पो ! सुकारामले आफ्नो परिबन्दको विस्तार लगाएपछि सुन्तलीलाई त्यो भित्ताको तस्वीर, उनको श्रीमानको छातीमा सजिएका ती तक्मा सम्झिँदा र आफूले कल्पना गरेका कुरा आखिर कल्पना मात्रै रहेछन् जसो लाग्छ।

    सुन्तलीलाई साथीहरुसँग काम गर्न मन लाग्छ। छिटोभन्दा छिटो काम गरेर पैसा कमाएर घर किन्नु छ। तर अहिले कोभिड-१९ को प्रभावले कतै सजिलोसँग काम पाइएको छैन । एक जनाको कमाइ त्यही पनि स्थायी नोकरी छैन । काममा बोलाउँदा जाने, ज्याला पाउने हो । होइन भने जति कमाइ छ त्यतिले ऋण, घरभाडा तिरेर बचेको खाने हो। सुखाराम पनि अलिक रोगी छन् । ठूलो सपना बोकेकी सुन्तली यता गर्दा नि हुँदैन उता गर्दा पनि हुँदैन । तैपनि सुन्तली हरेस खाँदिनन्। एकछिन आफ्नो पुर्पुरोमा हात राख्छिन् । सुखारामको अनुहार हेर्छिन् । अनि त फेरि कताकताबाट मायाको मुना पलाएर आउँछ। ‘अब त म तपाईंको साथमा छु नि । अब एउटा कोठामा मात्र बस्नु पर्दैन । केही महिनापछि कसो काम नपाइएला र काम गरेर आफ्नै घर किनेर बस्ने हो’ भनी एक अर्का बलियो अङ्गालोमा बाँधिन्छन्। मानौं खान नपर्ने भए यो जोडी अङ्गालोबाट छुट्टिने थिएनन्। त्यसैले होला नारी ममताको खानी भनिएको ।

    महिना बित्दै जान्छ । बल्लतल्ल सुन्तलीले काम पाउँछिन्। अंग्रेजी भाषाले गर्दा उनलाई काममा खुब गाह्राे हुन्छ । तर पनि उनको घर किन्ने चाहनाले गर्दा खुब मेहनत र इमानदारीका साथ काम गर्छिन्। घरमा आएर पनि सबै काम आफैं गर्छिन्। सुखारामको राति सुन्तलीको दिनको काम । कहिलेकाहीँ त दुई जनाको भेट पनि राम्रोसँग हुँदैन। नेपालमा त छुट्टिएर बसेको तीतो अनुभव थियो नै तर युके आएर पनि श्रीमान श्रीमतीसँगै नहुँदा न्यास्रो लागेर आउनु स्वाभाविकै हो। दिन पनि त्यस्तै जाडो, छिट्टै अँध्यारो पानी परिरहने । भोलि फेरि बिहानै उठेर काम जानु पर्नेछ। मन सानो गर्दै सुत्ने प्रखरमा रेडियोमा गीत बज्छ-युकेतिर जाउली, मेजर पेन्सन छँदैछ बसी बसी खाउली । गीतले भनेको जस्तो कहाँ बसीबसी खानपुग्दो रहेछ र ? मेजरले पनि त रातभरि काम गर्नु पर्ने रहेछ । सोचे जस्तो हुन्न रहेछ जीवन, दु:ख गरेर एउटा घर किन्ने चाहनामा सुन्तली सिरकभित्र पस्छिन्।

     

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य