लण्डनको फेल्थाम शहरमा जेष्ठ नागरिकहरूले मनाए तिहार
लण्डन । लण्डन हन्सलो बरोको ५६ औँ मेयर निर्वाचित नेपाली मुलका पूर्व गोर्खा विष्णुबहादुर गुरुङ, एज युके हन्सलो, गोर्खा वेलफेयर र साफा मिलेर नेपालीको महान् चाड तिहार/दीपावली कार्यक्रम भव्य रुपले मनाएको छ ।

लण्डनस्थित फेल्थाम शहरमा एज युके संस्थाको भवनमा मनाइएको यस तिहार/दीपावलीमा नेपाली र भारतीय मुलका जेष्ठ नागरिकहरूको सहभागिता थियो भने बोरो अफ हन्सलोका मेयर विष्णु गुरुङको प्रमुख आतिथ्य रहेको थियो । एज युके हन्सलोका डाइरेक्टरले सञ्चालन गरेको यस कार्यक्रममा गोर्खा वेलफेयरका हेड क्याप्टेन गेरी घले, साफा नोर्थ वेस्ट लण्डनका साफा केस वर्कर बम थापा सूर्यवंशी, साफा केस वर्कर सबु सेनको विशेष सहभागिता रहेको थियो ।

बोरो अफ हन्सलोमा एसियाका विभिन्न देशका नागरिकहरू एक ठाउँमा मिलेर बसेका छन् । तिहार/दीपावली नेपाल र भारतमा धुमधामसँग मनाउने हुँदा यसपालिको कार्यक्रममा भारत र नेपालका जेष्ठ नागरिकहरूले दुवै देशको संस्कृतिलाई एकै ठाउँमा सम्मानका साथ संयोजन गरेर कम्मर मर्काई मर्काई नाचेका थिए । सबु सेनले नेपाली गीत गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए भने एउटी सानी नानीले नेपाली नाच नाचेर सबैलाई छमछम नचाएकी थिइन् । त्यस्तै भारतका जेष्ठ नागरिकहरूले दीपावलीको नाच नाचेर कार्यक्रममा अरु रौनकता थपेका थिए । जेष्ठ नागरिकहरूलाई बेलायत सरकारले बेलायतमा बस्ने अनुमति त दियो तर सबै परिवारलाई बेलायतमा ल्याउन भने दिएको छैन । यसरी परिवारबाट टाढिएर बसेका, उमेर ढल्केका बुढापाकाहरूले बेलायतजस्तो ठाउँमा खुलेर तिहार मनाउन पाउँदा खुसी भएको धारणा व्यक्त गरेका थिए ।
















तपाइँको प्रतिक्रिया