एनआरएनए यूकेको आयोजनामा कुलमान घिसिङलाई भव्य स्वागत, नेतृत्वमा आउन आग्रह
लन्डन, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको सम्मानमा अल्डरसटमा ‘मिट एण्ड ग्रीट’ कार्यक्रम आयोजना गरेको छ। शुक्रबार १५ अगस्टका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न कार्यक्रममा सयौं नेपाली समुदायका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रम अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा सम्पन्न भएको थियो। घिसिङलाई सम्मान गर्न स्टेजमा लामो समयसम्म संघसंस्थाका प्रतिनिधिहरूको भीड लागेको थियो।
**गोर्खा समुदायसँगको आत्मीयता**
हल प्रवेश अघि घिसिङले प्रथम गोर्खा भिक्टोरिया क्रस विजेता कुलवीर थापाको सालिकमा श्रद्धाञ्जली अर्पण गर्दै रिथ चढाएका थिए। कार्यक्रममा परम्परागत पञ्चेबाजा र पाइपर ब्यान्डका साथ नेपालको झण्डा बोकेका सहभागीहरूलाई देख्दा उनले गौरवको अनुभूति भएको बताए। ‘अल्डरसट मेरा लागि दोस्रो घरजस्तै हो,’ उनले भने, ‘यही ठाउँबाट गोर्खाहरूले नेपालको नाम संसारभर चिनाएका छन्।’
**उज्यालो नेपाल अभियान र भावी योजना**
कार्यक्रममा सम्बोधन गर्दै घिसिङले विद्युत क्षेत्रमा आफ्नो ३० वर्षको अनुभव सुनाउँदै “उज्यालो नेपाल” अभियानको चर्चा गरे। ‘बत्तीको उज्यालो मात्र होइन, सामाजिक न्याय, समावेशी नेतृत्व र समृद्धिका लागि मैले अभियान थालेको हुँ,’ उनले भने, ‘विश्वभर रहेका नेपालीको साथ पाए मात्र यो सम्भव छ। उनले आफ्नो कार्यकालमा ४ हजार मेगावाट विद्युत उत्पादनमा पुगेको र ७ हजार मेगावाट निर्माणाधीन रहेको जानकारी दिए। साथै, पछिल्ला वर्षहरूमा नेपालले भारत र बंगलादेशमा करिब १,००० मेगावाट विद्युत निर्यात गरिरहेको बताए।
**रेमिटेन्स, नागरिकता र सम्मानको विषय**
नेपालमा वार्षिक १५ खर्ब रेमिटेन्स भित्रिए पनि खाडी मुलुकमा रहेका नेपालीलाई राज्यले बेवास्ता गरेकोप्रति उनले चिन्ता व्यक्त गरे। ‘जीडीपीको २७ प्रतिशत योगदान दिने रेमिटेन्स पठाउने श्रमिकलाई हेप्नु, उनीहरूका सन्तानलाई नागरिकताबाट वञ्चित गर्नु अन्याय हो,’ घिसिङको भनाइ थियो।
**राजनीतिमा प्रवेशको संकेत**
कार्यक्रमका विशेष अतिथी र वक्ताहरूले घिसिङलाई भावी नेतृत्वका लागि अघि आउन आग्रह गरे। तामाङ घेदुङ यूके अध्यक्ष हरिसिंह वाइवाले भने, ‘अब कुलमान घिसिङको नेतृत्वको विकल्प छैन। परम्परागत दलप्रति जनताको विश्वास घट्दै गएको छ।’ एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले घिसिङलाई सामाजिक अभियानमार्फत देश परिवर्तनको लागि अघि बढेकोमा बधाई दिँदै देश र प्रवास दुवैतर्फ समर्थन रहने विश्वास व्यक्त गरे।‘झोले र दलेहरुको मार्गदर्शनबाट सचेत गराउन र सही नेतृत्वको साथ दिन यो कार्यक्रम आयोजना गरिएको हो,’ गाहामगरले भने।
**सांस्कृतिक झल्को**
कार्यक्रमको दोस्रो चरणमा सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो। मोना यूके कल्चरल टिम, प्रथम नेपाली तारा दीपक लिम्बु, तामाङ सेलो नृत्य, खुकुरी डान्स तथा प्रथम नौमती बाजा गुल्मी यूकेको पञ्चेबाजा प्रस्तुति दर्शकको मन जित्ने खालका थिए। कार्यक्रम संयोजक अनिल मल्लले स्वागत मन्तव्य दिएका थिए भने महासचिव जुरेन्द्र खजुमले सञ्चालन गरेका थिए।









तपाइँको प्रतिक्रिया