• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतमा गुञ्जियो पाल्पाको पहिचान, पाल्पाली भञ्ज्याङ यूकेको १६औँ वार्षिक भेटघाट सम्पन्न

  •   १७ असार २०८३, बुधबार ०७:३४ 
  • लण्डन । नेपालको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘पहाडकी रानी’ भनेर विश्वभर परिचित पाल्पा जिल्लाबाट बेलायत अधिराज्यका विभिन्न सहरमा बसोबास गर्दै आएका पाल्पालीहरूको साझा संस्था पाल्पाली भञ्ज्याङ यूके (पाल्पा जिल्ला समाज यूके) ले आफ्नो १६औँ वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम २०२६ जुन २७ तारिखका दिन Samuel Cody School, Farnborough, Hampshire मा भव्य रूपमा सम्पन्न गरेको छ।

    सन् २००८ मा स्थापना भएको पाल्पाली भञ्ज्याङ यूकेले बेलायतभर छरिएर रहेका पाल्पाली तथा नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपाली भाषा, कला, संस्कृति, परम्परा तथा सामाजिक सद्भावलाई जगेर्ना गर्ने उद्देश्यका साथ निरन्तर सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

    कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष गोपाल थापाले गर्नुभएको थियो भने महासचिव दल थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रम संयोजकको भूमिका उपाध्यक्ष खुम कँवरले निर्वाह गर्नुभएको थियो। राफल ड्रको सञ्चालन उपाध्यक्ष लक्ष्मी आलेले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमको सञ्चालन विष्णु सूर्यवंशीले गर्नुभएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि समाजका वरिष्ठ सदस्य क्याप्टेन हरिबहादुर थापा रहनुभएको थियो। प्रमुख अतिथिले विदेशमा रहेर पनि पाल्पालीहरूलाई एकताबद्ध गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिमार्फत नेपाली पहिचानलाई जीवन्त राख्न पाल्पाली भञ्ज्याङ यूकेले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

    त्यसैगरी समाजका प्याट्रोन बम थापा सूर्यवंशी मगर ले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले आगामी दिनमा पनि पाल्पाली तथा नेपाली समुदायलाई अझ मजबुत रूपमा एकताबद्ध गर्दै लैजानुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा बेलायतका विभिन्न जिल्ला समाजका प्रतिनिधि, सामाजिक अभियन्ता तथा नेपाली समुदायका अग्रजहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

    यस वर्षको कार्यक्रमको मुख्य आकर्षण हाल सांगीतिक कार्यक्रमका लागि पाल्पा, नेपालबाट बेलायत भ्रमणमा रहनुभएका लोकप्रिय गायक इन्द्र जीसी र चर्चित गायिका जमुना राना हुनुहुन्थ्यो। आफ्नै जन्मथलो पाल्पाका कलाकारहरूको उपस्थितिले कार्यक्रममा विशेष उत्साह थपिएको थियो।

    गायक इन्द्र जीसी ले पाल्पाको मौलिक पहिचान झल्काउने चर्चित गीत “कालीपारे दाइ” तथा “रम्भादेवी थान” प्रस्तुत गर्दै उपस्थित सम्पूर्ण दर्शकलाई मन्त्रमुग्ध बनाउनुभयो। उहाँका प्रस्तुतिमा दर्शकहरू गीतसँगै स्वर मिलाउँदै नाचगानमा रमाएका थिए। पाल्पाको माटो, संस्कृति र मौलिकतालाई गीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरेपछि कार्यक्रमस्थल सांगीतिक माहोलले गुञ्जायमान बनेको थियो।

    यसअघि पनि बेलायतमा सफल सांगीतिक प्रस्तुति दिइसक्नुभएकी गायिका जमुना राना ले यसपटकको कार्यक्रमको सुरुवात गायक इन्द्र जीसीसँगको चर्चित नयाँ युगल गीत “एक दिन त बैगुनी पक्कै रुनी छ” बाट गर्नुभएको थियो। उक्त गीतले उपस्थित दर्शकबाट अत्यन्त राम्रो प्रतिक्रिया पाएको थियो। त्यसपछि उहाँले आफ्ना लोकप्रिय लोक तथा दोहोरी गीतहरू प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभयो।

    कार्यक्रमका क्रममा पाल्पाली भञ्ज्याङ यूकेले गायक इन्द्र जीसी र गायिका जमुना राना लाई खादा, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो।

    कार्यक्रमलाई थप आकर्षक बनाउन आयोजना गरिएको राफल ड्र का लागि एल्डरशटस्थित दीप ज्वेलर्स का सञ्चालक प्रेम विश्वकर्मा तथा श्री लक्की ज्वेलरी का सञ्चालक मेजर योगेश राई ले शुद्ध सुनका आकर्षक गहना पुरस्कारस्वरूप प्रायोजन गर्नुभएको थियो। उहाँहरूले प्रदान गर्नुभएको बहुमूल्य पुरस्कारले सहभागीहरूको उत्साह अझ बढाएको थियो। राफल ड्रको सञ्चालन समाजकी उपाध्यक्ष लक्ष्मी आले ले गर्नुभएको थियो भने भाग्यशाली विजेताहरूलाई कार्यक्रममै सुनका गहना पुरस्कारस्वरूप प्रदान गरिएको थियो।

    कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरूका लागि द प्यालेस रेष्टुरेन्ट, एल्डरशट (The Palace Restaurant, Aldershot) ले स्वादिष्ट नेपाली परिकारको व्यवस्था गरेको थियो। उक्त रेष्टुरेन्टका सञ्चालक ऋखीराम राना पाल्पाली भञ्ज्याङ यूकेका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ। संस्थाको स्थापना कालदेखि नै पाल्पाली समुदायलाई एउटै सूत्रमा बाँध्ने अभियानमा उहाँले महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ। यस वर्षको कार्यक्रमलाई सफल बनाउन पनि उहाँको विशेष सहयोग र सक्रिय भूमिका रहेको आयोजकले जनाएको छ।

    कार्यक्रममा समाजका पदाधिकारी, सल्लाहकार, आजीवन सदस्य, विभिन्न जिल्ला समाजका प्रतिनिधि, स्वयंसेवक, प्रायोजक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्वयंसेवक, कलाकार, अतिथि तथा उपस्थित सबैप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।

    कार्यक्रमको समापन गर्दै अध्यक्ष गोपाल थापाले विदेशमा रहेर पनि पाल्पाली तथा नेपाली समुदायबीचको एकता, भाइचारा र सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि पाल्पाली भञ्ज्याङ यूकेले नेपाली भाषा, कला, संस्कृति तथा सामाजिक सेवाका क्षेत्रमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    विदेशी भूमिमा बसे पनि आफ्नो जन्मभूमि, भाषा, कला, संस्कृति र मौलिक पहिचानलाई जीवन्त राख्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको पाल्पाली भञ्ज्याङ यूकेको १६औँ वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम अत्यन्त सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न भएको सहभागीहरूले बताएका छन्।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    बेलायतमा गुञ्जियो पाल्पाको पहिचान, पाल्पाली भञ्ज्याङ यूकेको १६औँ वार्षिक भेटघाट सम्पन्न

    लण्डन । नेपालको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘पहाडकी रानी’ भनेर विश्वभर परिचित पाल्पा जिल्लाबाट बेलायत अधिराज्यका विभिन्न सहरमा बसोबास...


    ‘चिमखोले काइँला’को साहित्यिक र सामाजिक यात्रामाथि ‘अभिव्यक्ति श्रृङ्खला–१७’

    १/२ गोर्खा राइफल्स मोर्टर प्लाटुनको भव्य भेटघाट सम्पन्न

    • मेनोपज: लुकाउने होइन, बुझ्ने र स्वीकार गर्ने जीवनको यात्रा
    • वेल्समा निर्माणाधीन ‘नेपाली भिलेज यूके’ : नेपाली पहिचान र संस्कृतिलाई विश्वमाझ चिनाउने महत्वाकांक्षी अभियान
    • वेल्समा नेपाली समुदाय–पत्रकार अन्तरक्रिया, ७ बुँदे घोषणापत्र जारी
    • Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    संबन्धित समाचारहरु

    ‘चिमखोले काइँला’को साहित्यिक र सामाजिक यात्रामाथि ‘अभिव्यक्ति श्रृङ्खला–१७’
    १/२ गोर्खा राइफल्स मोर्टर प्लाटुनको भव्य भेटघाट सम्पन्न
    मेनोपज: लुकाउने होइन, बुझ्ने र स्वीकार गर्ने जीवनको यात्रा
    वेल्समा निर्माणाधीन ‘नेपाली भिलेज यूके’ : नेपाली पहिचान र संस्कृतिलाई विश्वमाझ चिनाउने महत्वाकांक्षी अभियान
    वेल्समा नेपाली समुदाय–पत्रकार अन्तरक्रिया, ७ बुँदे घोषणापत्र जारी
    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य