• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

चिमखोले काइँला’का सिर्जनाले गुञ्जियो अल्डरसट, सम्पन्न भयो ‘अभिव्यक्ति श्रृङ्खला–१७

  •   १७ असार २०८३, बुधबार १६:१२ 
  • लन्डन, नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले आयोजना गर्दै आएको ‘अभिव्यक्ति श्रृङ्खला’को १७औँ संस्करण शनिबार बेलायतको अल्डरसटस्थित सुसीमोटो हलमा सम्पन्न भएको छ। यस वर्षको श्रृङ्खलामा पूर्व गोर्खा सैनिक, साहित्यकार, पत्रकार, गीतकार तथा समाजसेवी डा. दूतबहादुर पुन ‘चिमखोले काइँला’लाई केन्द्रमा राखिएको थियो।

    हालै विद्यावारिधि (PhD) उपाधि हासिल गरेका डा. पुन नेपाली डायस्पोरामा साहित्य, पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय स्रष्टाका रूपमा परिचित छन्। ‘सुनदन्ते’, ‘अर्ली भाइ’, ‘यूकेको जिन्दगी’, ‘लन्डनको कोशेली’, ‘लन्डन घुमौँला’ र ‘गोलार्धको चक्कर मारौँला’ लगायत उनका कृतिहरू प्रकाशित छन्। प्रवासी नेपालीको जीवन, गोर्खा सैनिकहरूको भोगाइ, सामाजिक यथार्थ र राष्ट्रिय चेतनालाई केन्द्रमा राखेर सिर्जना गर्ने उनी नेपाली समुदायमा सम्मानित स्रष्टाका रूपमा चिनिन्छन्।

    प्रतिष्ठानका अध्यक्ष टंक वनेमको अध्यक्षता तथा वरिष्ठ गीतकार एकेन्द्र गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. पुनले करिब एक घण्टासम्म कविता, गजल, मुक्तक र हाइकु वाचन गरे। साथै, उनका सिर्जनामा आधारित केही गीतका म्युजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो।

    उनले ‘बुढो लाहुरे’, ‘यूकेको जिन्दगी’, ‘थाहा छैन आफैँलाई केले खाने हो’, ‘राष्ट्रियताका लागि डम्फु बजाउने नेताहरू’, ‘मान्कान्त हाम्रो घर’, ‘चाखियो’ र ‘गोर्खेले सकेकै हो’ लगायतका कविता प्रस्तुत गरेका थिए। साथै तीन गजल, तीन मुक्तक र तीन हाइकु पनि वाचन गरेका थिए।

    उनका सिर्जनामा सैनिक जीवनका अनुभव, गोर्खा सैनिकहरूले भोगेका विभेद, बेलायतमा आप्रवासी जीवनका संघर्ष, नेपालको समकालीन सामाजिक–राजनीतिक अवस्था, राष्ट्रिय चेतना तथा मानवीय संवेदनाका विविध पक्ष मुखर रूपमा अभिव्यक्त भएका थिए। कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूले उनका सिर्जनाले जीवन र समाजका अनेक आयाममाथि गम्भीर विमर्श गराएको प्रतिक्रिया दिएका थिए।

    कार्यक्रममा बेलायतमा सक्रिय विभिन्न सामाजिक, सांस्कृतिक तथा साहित्यिक संस्थाका प्रतिनिधि, साहित्यकार, बुद्धिजीवी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतिष्ठानका पूर्वअध्यक्षहरू रक्ष राई, गणेश राई र दयाकृष्ण राईसहित केदार सङ्केत, विजय हितान, लीला सेलिङ माबो, अन्जु अन्जली, गोमा गुरुङ, देवेन्द्र खेरेस, मिजास तेम्बेलगायतका स्रष्टाहरू सहभागी थिए।

    विशेष अवसरमा बेलायतस्थित विभिन्न नेपाली साहित्यकारका कृतिहरूको प्रदर्शनी तथा बिक्रीसमेत गरिएको थियो।

    कार्यक्रमको प्रारम्भमा प्रतिष्ठानका उपाध्यक्ष देवेन्द्र खेरेसले स्वागत मन्तव्य राख्दै प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि प्रतिष्ठानले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए। कार्यक्रमको सञ्चालन उपाध्यक्ष मिजास तेम्बेले गरेका थिए।

    प्रमुख अतिथि एकेन्द्र गुरुङले साहित्य समाज परिवर्तनको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै डा. पुनका सिर्जनाले गोर्खा सैनिकहरूको इतिहास, संघर्ष र आप्रवासी जीवनलाई सशक्त रूपमा अभिव्यक्त गरेको बताए।

    समापनका अवसरमा अध्यक्ष टंक वनेमले डा. पुनका रचनाहरूलाई ब्रिगेड अफ गोर्खाभित्रको जीवन र संघर्षको प्रामाणिक दस्तावेजको संज्ञा दिँदै उनलाई ‘पल्टन घरका आँशु कवि’को रूपमा चित्रण गरे। उनका सिर्जनाहरू आगामी पुस्ताका लागि महत्वपूर्ण ऐतिहासिक अभिलेखका रूपमा स्थापित हुने विश्वास पनि उनले व्यक्त गरे।

    सन् २००७ देखि सञ्चालन हुँदै आएको ‘अभिव्यक्ति श्रृङ्खला’ नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको नियमित साहित्यिक अभियान हो, जसले प्रवासमा रहेका नेपाली स्रष्टाहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने साझा मञ्च उपलब्ध गराउँदै आएको छ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व

    लन्डन। बेलायतको केम्पटन पार्क रेसकोर्स आइतबार नेपाली कला, संस्कृति, भेषभूषा र मौलिक परम्पराले रंगिएको छ। तमु धीं एसोसिएसन यूकेद्वारा...


    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने

    • लखन थापा मगर मेमोरियल गल्फमा १३८ खेलाडी र २२ टिम भिड्दै
    • मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    • जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    • नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    संबन्धित समाचारहरु

    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने
    लखन थापा मगर मेमोरियल गल्फमा १३८ खेलाडी र २२ टिम भिड्दै
    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य