बुटवल सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न
लण्डन, ५ जुलाई। बेलायतमा रहेका बुटवल तथा आसपासका नेपालीहरूलाई एकै ठाउँमा जोड्ने उद्देश्यले बुटवल सेरोफेरो समाज यूकेद्वारा आयोजित वार्षिक भेटघाट तथा सांस्कृतिक कार्यक्रम शनिबार लण्डनको St Michael’s Community Centre, Welling मा भव्य रूपमा सम्पन्न भएको छ।
समाजका अध्यक्ष नारायण पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दान थापा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। त्यसैगरी फोनिज यूकेका अध्यक्ष बम थापा सूर्यवंशी मगर, पाल्पा जिल्ला समाज यूकेका अध्यक्ष गोपाल थापा तथा एमएयूके (MAUK) प्लमस्टेड शाखाका अध्यक्ष खडक थापा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमको प्रारम्भमा समाजकी उपाध्यक्ष श्रीमती देवमाया गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, सहयोग र भाइचाराको भावना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
त्यसपछि फोनिज यूकेका अध्यक्ष बम थापा सूर्यवंशी मगरले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रवासमा सामाजिक संस्थाहरूले नेपाली भाषा, कला, संस्कृति तथा पहिचान जोगाउन महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो। उहाँले समाजले गर्दै आएका रचनात्मक गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष नारायण पुनले अध्यक्षीय मन्तव्य राख्दै बुटवल सेरोफेरो समाज यूके स्थापना भएदेखि नै प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाउने, आपसी सहयोग र सद्भाव बढाउने तथा नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यका साथ निरन्तर क्रियाशील रहेको बताउनुभयो। उहाँले आगामी दिनमा समाजलाई अझ सशक्त र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रमको औपचारिक सञ्चालन समाजका महासचिव मिन गुरुङले गर्नुभएको थियो। उहाँले कार्यक्रमलाई व्यवस्थित, रोचक र प्रभावकारी ढंगले सञ्चालन गर्नुभएको थियो। सांस्कृतिक कार्यक्रमको सञ्चालन भने बाबु राना र ब्रुस थापाले गर्नुभएको थियो।
सांस्कृतिक कार्यक्रममा विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। विशेष आकर्षणका रूपमा द भ्वाइस अफ नेपाल सिजन–७ की सेकेन्ड रनरअप पुनम गुरुङले आफ्नो सुमधुर स्वरमा एकल गायन प्रस्तुत गर्दै उपस्थित दर्शकको भरपुर प्रशंसा बटुल्नुभयो। उहाँको प्रस्तुति कार्यक्रममा सहभागी सबैका लागि विशेष आकर्षण बनेको थियो।
यस अवसरमा द भ्वाइस अफ नेपाल सिजन–७ की सेकेन्ड रनरअप पुनम गुरुङलाई समाजले विशेष सम्मान गरेको थियो। त्यस्तै पूर्ण लण्डन म्याराथन सफलतापूर्वक सम्पन्न गरेकी सोनिया पुनलाई पनि समाजले विशेष सम्मान गर्दै उहाँको उपलब्धिको उच्च कदर गरेको थियो।
कार्यक्रममा उपस्थित सहभागीहरूले यस्ता भेटघाट तथा सांस्कृतिक कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै नेपाली भाषा, कला, संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए।
कार्यक्रम सफल बनाउन विभिन्न स्वयंसेवक तथा सहयोगीहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए। गेट टिकट व्यवस्थापनको जिम्मेवारी देविन थापाले सम्हाल्नुभएको थियो।
कार्यक्रमको समापनमा अध्यक्ष नारायण पुनले प्रमुख अतिथि, विशिष्ट अतिथि, कलाकार, सम्मानित व्यक्तित्व, स्वयंसेवक, सहयोगी तथा कार्यक्रममा सहभागी सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक, सांस्कृतिक तथा एकतामूलक कार्यक्रमलाई निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो।
तस्बिर : लण्डन काठमाडौं न्यूज









तपाइँको प्रतिक्रिया