नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले संस्थाको आधिकारिक नाम, लोगो तथा आधिकारिक इमेलसँग मिल्दोजुल्दो नक्कली इमेल प्रयोग गरी भ्रामक सूचना, समाचार तथा कार्यक्रम सार्वजनिक भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय संस्थाको आधिकारिक लोगो दुरुपयोग गरी तथाकथित तदर्थ समिति घोषणा गर्ने, नयाँ सदस्यताका नाममा आर्थिक संकलन गर्ने तथा केही व्यक्तिले आफूलाई संस्थाको पदाधिकारीका रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको जानकारी प्राप्त भएको जनाएको छ।
महासंघले यस्ता गतिविधिसँग नेपाल पत्रकार महासंघ यूके शाखाको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा शाखाको छैटौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिले नै वैधानिक रूपमा संस्थाको नेतृत्व गरिरहेको उल्लेख गरिएको छ। शाखाको १३औँ स्थापना दिवससमेत सोही वैधानिक कार्यसमितिको आयोजनामा सम्पन्न भइसकेको महासंघले जनाएको छ।
शाखाभित्र देखिएका केही असन्तुष्टि तथा विवाद समाधानका लागि पूर्वअध्यक्षहरू, सल्लाहकार तथा नेपाल पत्रकार महासंघको केन्द्रीय समितिसँग आवश्यक समन्वय गरी निर्णयहरू गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
महासंघले संस्थाको आधिकारिक नाम, लोगो र इमेलको दुरुपयोग गरी भ्रम सिर्जना गर्ने तथा पत्रकार समुदायलाई विभाजित गर्ने गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। यस्ता गतिविधि नरोकिए आवश्यकताअनुसार कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत दिइएको छ।
साथै, पत्रकार, सञ्चारमाध्यम, विभिन्न संघसंस्था तथा बेलायतस्थित नेपाली समुदायलाई महासंघको आधिकारिक स्रोतबाट प्रकाशित सूचना तथा निर्णयलाई मात्र विश्वास गर्न र अन्य माध्यमबाट प्रसारित सूचनाप्रति सतर्क रहन आग्रह गरिएको छ।
महासंघले पत्रकारिताको मर्यादा, संस्थागत वैधानिकता, व्यावसायिक आचारसंहिता तथा नेपाली पत्रकार समुदायको एकताप्रति आफू सधैँ प्रतिबद्ध रहेको दोहोर्याएको छ।
शाखासम्बन्धी कुनै विषयमा अन्योल वा थप जानकारी आवश्यक परे अध्यक्ष वा महासचिवसँग प्रत्यक्ष सम्पर्क गर्नसमेत महासंघले अनुरोध गरेको छ।
प्रेस विज्ञप्ति :











तपाइँको प्रतिक्रिया