• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

  •   ७ श्रावण २०८३, बिहीबार २२:५६ 
  • लन्डन, २३ जुलाई |

    बेलायतस्थित नेपाली समुदायको सबैभन्दा ठूलो सांगीतिक तथा सांस्कृतिक कार्यक्रममध्ये एक १८औँ नेपाली ओपन कन्सर्ट २०२६ आगामी २५ जुलाई २०२६ मा एल्डरशटस्थित रशमोर एरिना (Rushmoor Arena) मा आयोजना हुने भएको छ। मगर एसोसिएसन यूके (MAUK) ले “Music for Unity (संगीतद्वारा एकता)” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गर्न लागेको जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत दिएको हो।

    फर्नबरोस्थित मगर भवनमा आयोजित पत्रकार सम्मेलनको अध्यक्षता मगर एसोसिएसन यूकेका अध्यक्ष लालु पुनले गरेका थिए। कार्यक्रममा १८औँ नेपाली ओपन कन्सर्टका संयोजक तथा मगर एसोसिएसन यूकेका उपाध्यक्ष गुमानसिंह थापाले प्रेस विज्ञप्ति वाचन गर्दै कार्यक्रमका सम्पूर्ण तयारी, उद्देश्य, बजेट, कलाकार तथा व्यवस्थापनबारे जानकारी गराएका थिए। कार्यक्रम सञ्चालन मगर एसोसिएसन यूकेका महासचिव गोमन पुनले गरेका थिए।

    प्रेस सम्मेलनमा बोल्दै अध्यक्ष लालु पुनले नेपाली ओपन कन्सर्ट बेलायतमा बसोबास गर्ने नेपाली समुदायको साझा पर्वका रूपमा स्थापित भइसकेको बताउँदै नेपाली कला, संस्कृति, भाषा र पहिचानलाई प्रवर्द्धन गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। उनले नेपाली समुदायबीच एकता, भाइचारा र सहकार्यलाई अझ मजबुत बनाउन यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने पनि उल्लेख गरे।

    संयोजक गुमानसिंह थापाले यस वर्षको कन्सर्ट अघिल्ला संस्करणभन्दा अझ भव्य र व्यवस्थित हुने जानकारी दिए। उनका अनुसार कार्यक्रम सम्पन्न गर्न करिब ८० हजार पाउण्ड खर्च हुने अनुमान गरिएको छ। उक्त बजेट मञ्च निर्माण, ध्वनि तथा प्रकाश व्यवस्थापन, कलाकारहरूको हवाई यात्रा, आवास, यातायात, सुरक्षा व्यवस्था, प्रचारप्रसार, प्राविधिक उपकरण, स्वयंसेवक परिचालन तथा अन्य प्रशासनिक व्यवस्थापनमा खर्च गरिनेछ। कार्यक्रम सफल बनाउन विभिन्न व्यवसायी, प्रायोजक तथा नेपाली समुदायको उल्लेखनीय सहयोग रहेको उनले बताए।

    उनका अनुसार २५ जुलाई २०२६ मा हुने कार्यक्रम दिउँसो १ बजेदेखि राति १०ः३० बजेसम्म सञ्चालन हुनेछ। बेलायतका विभिन्न सहरबाट आउने दर्शकको सहजताका लागि आवश्यक सम्पूर्ण तयारी गरिएको पनि उनले जानकारी दिए।

    यस वर्षको कन्सर्टको मुख्य आकर्षण चर्चित मन्त्र ब्याण्ड (Mantra Band) रहनेछ। त्यस्तै द भ्वाइस अफ नेपाल सिजन–७ की विजेता नीता कुमारी थापा मगर, गोविन्द पुन, पुनम गुरुङ, सम्झना भण्डारी, सविना बुढा तथा रुपी सिन्जाली लगायतका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। साथै ८औँ मगर गट ट्यालेन्ट का विजेता अलिशा पुन र प्रतिमा पुनको विशेष प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।

    कार्यक्रमको सञ्चालन मिलन थापा मगर, पवन राना र दुर्गा गुरुङले गर्नेछन्। पत्रकार सम्मेलनमा उपस्थित कलाकारहरूले नेपाली समुदायमाझ प्रत्यक्ष प्रस्तुति दिन पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले कार्यक्रममा सहभागी भई नेपाली संगीत र संस्कृतिको उत्सवलाई भव्य बनाउन सबैलाई आग्रह पनि गरेका छन्।

    आयोजकका अनुसार सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको नेपाली ओपन कन्सर्ट बेलायतस्थित नेपाली समुदायको सबैभन्दा ठूलो खुला सांगीतिक कार्यक्रमका रूपमा स्थापित भइसकेको छ। हरेक वर्ष हजारौं नेपाली तथा विदेशी दर्शकको सहभागिता रहने यस कार्यक्रमले नेपाली कला, संस्कृति र संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्दै आएको छ।

    कार्यक्रमस्थल रशमोर एरिना, एल्डरशट सार्वजनिक यातायातबाट सहज पहुँचमा रहेको छ। नजिकै Aldershot, North Camp र Farnborough Main रेल स्टेशन रहेका छन्। आयोजकले टिकट बिक्री खुला भइसकेको जानकारी दिँदै बेलायतभर रहेका नेपाली समुदायलाई परिवार, साथीभाइ तथा आफन्तसहित कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।

    पत्रकार सम्मेलनमा कलाकारहरूसँग Meet & Greet कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी कलाकारहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो भने पत्रकारहरूसँग कार्यक्रमबारे अन्तरक्रिया पनि गरिएको थियो। सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि, नेपाली संघसंस्थाका पदाधिकारी, समाजसेवी तथा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य