बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने
बेलायत। नेपाली कथानक चलचित्र ‘पेन्सन पट्टा’ बेलायतका विभिन्न शहरमा प्रदर्शन गरिने भएको छ। निर्माण पक्षले आइतबार माइचेटस्थित तमुधिं यूके भवनमा पत्रकार सम्मेलन आयोजना गरी चलचित्र प्रदर्शनबारे जानकारी दिएको हो।
नेपालमा ११ सेप्टेम्बरदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको बेलायत प्रिमियर १२ सेप्टेम्बरमा प्रिन्सेस हलमा हुने निर्माता तथा तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले जानकारी दिए।
चलचित्र निर्माण आफ्नो मुख्य पेसा नभए पनि सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले लगानी गरेको गुरुङले बताए। ‘पेन्सन पट्टा केवल कागजको टुक्रा नभई जीवन धान्ने बलियो आधार पनि हो’ भन्ने मुख्य सन्देश चलचित्रले बोकेको उनको भनाइ छ।
माओत्से गुरुङको निर्देशनमा बनेको यो दोस्रो चलचित्र हो। चलचित्रमा माया, त्याग र आत्मसम्मानको कथालाई प्रस्तुत गरिएको छ। पारिवारिक कथावस्तुमा आधारित चलचित्रले दर्शकलाई अन्त्यसम्म बाँधिराख्ने विश्वास निर्माता गुरुङले व्यक्त गरे।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, स्वर्गीय सुनिल थापा, विल्सनविक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर गुरुङ र मनिका गुरुङलगायत कलाकारको अभिनय छ। बेलायतमा हुने प्रदर्शनीका क्रममा कलाकारद्वय गौमाया गुरुङ र पशुपति राईको विशेष उपस्थिति रहने निर्माण पक्षले जनाएको छ।
पत्रकार सम्मेलनमा तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले नेपाली कला र कलाकारलाई माया गर्नु सबैको दायित्व भएको बताए। उनले चलचित्र हेरेर नेपाली कला क्षेत्रलाई साथ दिन बेलायतवासी नेपाली समुदायसँग आग्रह गरे।
आयोजकका अनुसार चलचित्र हेर्न साधारण टिकटको मूल्य २० पाउन्ड र विशेष आतिथ्यसहितको भीआईपी टिकटको मूल्य ५० पाउन्ड तोकिएको छ। सिट संख्या सीमित रहेकाले समयमै टिकट बुक गर्न दर्शकहरूलाई आग्रह गरिएको छ।
पूर्वनिर्धारित तालिकाअनुसार चलचित्र १९ सेप्टेम्बरमा दक्षिणपूर्वी लन्डनको प्लमस्टिड र २७ सेप्टेम्बरमा ननिटनमा प्रदर्शन हुनेछ। यसबाहेक स्वीन्डन, फोक्सटनलगायत बेलायतका अन्य शहरमा पनि चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।









तपाइँको प्रतिक्रिया