विदेशको भूमिमा रहे पनि मन त नेपाली नै भएकाले नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने मुख्य उद्देश्यका साथ शनिबार, १३ अप्रिल २०१९ को दिनमा Cavalry Barracks, Hounslow, TW4 6HD मा नेपालको नयाँ वर्ष २०७६ लाई संस्थागत रुपले मनाउने निधो गरिएको छ । सोही अवसरमा निवर्तमान कार्यसमितिलाई बिदाई साथै समाजभित्र राम्रा काम गर्दै आएकाहरूलाई सम्मान गर्ने योजना पनि रहेको छ । बम थापा (सूर्यवंशी) को संयोजकत्वमा आयोजना हुने सो नेपाली नयाँ वर्षको कार्यक्रम भव्य अनि सभ्य हुने बुद्धिजीवीहरूको भनाइ रहेको छ । त्यस्तै गरी ३१ अगस्त २०१९ को दिनमा महिलाहरूका लागि लेडिज नाइट अथवा हरितालिका तिजको कार्यक्रम राख्ने निधो पनि भएको छ ।

संस्थाले शनिबार, २० जुन २०१९ को दिनमा फेल्थहाम शहरको स्प्रिङवेष्ट एकडेमी फेल्थहाम कम्युनिटी कलेजको मैदानमा १० औँ गोर्खा भिसी कप आयोजना गर्ने निर्णय गरेको छ । युद्धमा बहादुरी देखाएपछि ब्रिटिश सेनाको सर्वोच्च युद्धपदक भिक्टोरिया क्रस (भिसी) तक्माले सम्मानित हाम्रा पुर्खाहरूको सम्झना र सम्मानमा सो कार्यक्रम आयोजना गरिने भएको हो । विश्वयुद्ध र त्यसपछिका केही क्षेत्रीय युद्धमा ब्रिटिश सेनामा कार्यरत ३१ जनाले मात्रै भिसी तक्मा पाएका थिए । तीमध्ये १३ जना पहिलो र दोस्रो विश्ययुद्धमा बेलायती साम्राज्य बचाउनका लागि बहादुरी देखाई भिसी पाउने गोर्खाली नै थिए । स्मरण रहोस्, आफ्नो ज्यानभन्दा बेलायती साम्राज्य प्यारो ठानेर ब्रिटिशका लागि लडेर भिसी पाउने ती १३ जना भिसीको सम्मान र सम्झनामा सो कार्यक्रम गरेर गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले उदाहरणीय कार्य गर्ने भएको छ ।