काठमाडौँमा पाँचौँ वातावरण साहित्य सम्मेलन आयोजना गरिँदै
नेपाल भ्रमण वर्ष २०२० लाई अवसर पारेर काठमाडौँमा वातावरण साहित्य सम्मेलन गरिने भएको छ । बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीको तत्वावधानमा नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्ष दर्जनभन्दा बढी विभिन्न पक्षका समन्वय समितिहरू गठन गरिएको थियो । तिनीहरूमध्ये साहित्य समन्वय समिति पनि एक थियो । यसै समितिले नेपाली राजदूतावास लन्डनमा हालै आयोजित नेपाल भ्रमण वर्ष उद्घाटन समारोहमा उक्त घोषणा गरेको हो ।
सन् २०२० मा विदेशमा रहेका नेपाली साहित्यकारलाई नेपाल भित्र्याउने प्रमुख उद्देश्यले आउँदो जुन महिनाको ६ तारिख काठमाडौँ एकेडमी हलमा वातावरण साहित्य सम्मेलन आयोजना गरिने यसै समितिका सचिव विजय हितानले जानकारी दिनुभयो । उक्त साहित्य सम्मेलनमा वातावरण साहित्यका विषयमा कार्यपत्र पेस, वातावरणमा आधारित सिर्जना वाचन र वातावरणसम्बन्धी लेखिएका पुस्तक विमोचन गरिने कार्यक्रम छ । स्मरण रहोस्, प्रत्येक वर्ष ५ जुनका दिन संयुक्त राष्ट्रसंघको वातावरण विभागले संसारका विभिन्न मुलुकमा विश्व वातावरण दिवसको आयोजना गर्छ । यसै दिवसलाई पारेर यो साहित्य सम्मेलन गर्न लागिएको हो ।

सन् २०१९ मा वातावरण साहित्यको चौथो शृङ्खला लन्डनमा सुसम्पन्न भैसकेको र सन् २०२० को पाँचौँ शृङ्खलालाई काठमाडौँमा आयोजना गरिने छ । गत शृङ्खलामा राजदूत स्वयम् प्रमुख अतिथि भएर सहभागिता जनाउनुभएकाले पाँचौँ शृङ्खलामा पनि उहाँको गहिरो चासो र पूर्ण समर्थन रहेको आयोजक समितिले जनाएको छ ।
सम्मेलनलाई सफलताका साथ सम्पन्न पार्न ’एक व्यक्ति १ पाउण्ड’को अवधारणा अपनाएर बढीमा १००० पाउण्ड सङ्कलन गरी कार्यक्रममा खर्च गरिने छ । नेपाली साहित्यलाई माया गर्ने व्यक्तिहरूबाट १ पाउण्ड सङ्कलन गर्दा उनीहरूलाई वातावरण साहित्यको महत्व बुझाउन सजिलो पर्ने र यस विषयमा जनचेतना फैलाउने उद्देश्यले यस्तो खाले कोष सङ्कलनकार्यलाई अघि बढाइएको संयोजक समितिको भनाइ छ । यो अन्य साहित्य सम्मेलनभन्दा अलि पृथक् भएका कारणले अहिलेसम्म धेरै विदेश तथा स्वदेशका साहित्यिक संस्थाहरू र साहित्यकारहरूले गहिरो रुचि देखाइसकेको जानकारीमा आएको छ ।
नेपाली साहित्यका अन्य धार नभई किन वातावरण साहित्य सम्मेलन नै आयोजना गर्न गइरहनुभएको भन्ने प्रश्नको जवाफमा पृथ्वीको पर्यावरण अथवा वातावरण मानवीय गतिविधिका कारणले दिनप्रतिदिन बिग्रँदै आइरहेको अवस्थामा यसको संमक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न अति आवश्यक परेको र साहित्यले यस विषयमा अझ महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले वातावरण साहित्य सम्मेलन नेपालमा आयोजना गर्ने निर्णय गरिएको संयोजक समितिको धारणा छ ।

तेस्रो वातावरण साहित्य सम्मेलनसम्म सङ्कलित भएका वातावरणीय धारमा लेखिएका कविताहरूको ’स्वच्छन्द सुसेलीहरू’ शीर्षकको कवितासङ्ग्रह सम्पादन गरेर हितानले प्रकाशन गर्नुभएको छ । वातावरण सम्मेलनमा गमलामा उमारिएको लालीगुराँसको फूललाई सभापति मान्ने र सर्वोउत्कृष्ट सर्जकलाई उक्त फूल उपहारको रुपमा प्रदान गर्ने पारिपाटी पनि भएको हितानले बताउनुभयो ।
संयोजन समितिले पाँचौँ वातावरण साहित्य सम्मेलनको प्रमुख संयोजक हितानलाई बनाएको छ । यसलाई नेपालमा वरिष्ठ समालोचक तथा साहित्यकार प्रोफेसर डा. गोविन्दराज भट्टराई, सुविख्यात युवा कवि प्रज्ज्वल अधिकारी, वरिष्ठ गीतकार भावेश भुमरी साथै दर्जनौँ साहित्यिक संघसङ्गठनहरूको प्रत्यक्ष सहयोग रहने छ । सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न स्वदेश तथा विदेशमा रहेका साहित्यकार तथा साहित्यिक संघसंस्थाहरूलाई निमन्त्रणा पठाइने छ ।
स्मरण रहोस्, नेपाल भ्रमण वर्ष २०२० साहित्य समन्वय समितिमा नेपाली साहित्य विकास परिषद् बेलायतका अध्यक्ष कोमल मल्ल– संयोजक, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरका अध्यक्ष सुमल गुरुङ– सहसंयोजक, यसै संस्थाकी उपाधक्ष्य लक्ष्मी राई लारा– सहसंयोजक, अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतका अध्यक्ष विकलचन्द्र आचार्य– सहसंयोजक र विश्व नेपाली साहित्य महासंघ साउथ युकेका पूर्व अध्यक्ष तथा वातावरण साहित्यकार विजय हितान– सचिव हुनुहुन्छ ।










तपाइँको प्रतिक्रिया