मगर संस्कृतिविद् बमकुमारी बुढामगरको मुख्य आतिथ्यमा मगर दिवस मनाइने
बम थापा (सूर्यवंशी)
शनिबार, २२ फेब्रुअरी २०२० का दिन रेडिङ जाऔँ, ३८ औँ मगर दिवस भव्यताका साथ मनाऔँ’ भन्ने नाराका साथ मगर संघ युकेले मगर संस्कृतिका ज्ञाता बमकुमारी बुढामगरको मुख्य आतिथ्यमा मगर दिवस मनाउने भएको छ ।

मगर दिवसको अवसरमा मगर संघ युकेका ११ शाखा र पुन मगर समाज युकेद्वारा झाँकीको प्रदर्शन साथै मगर संस्कृतिलाई झल्काउने घाटु, कौरा, सोरठी, सालैजो, हुर्रा आदि नाचहरूसँगै बेलायतमा पहिलोचोटि १८ मगरात क्षेत्रमा प्रचलित सरङ्गे नृत्य प्रदर्शन हुने छ । सो दिवसमा मगर युवा समूहबाट मगर गोट ट्यालेन्टका विजेताहरूद्वारा मगर मौलिक भेषभूषाको प्रदर्शन गरिने मगर संघ युकेका सांस्कृतिक सचिव सरू राना गुरुङले बताएकी छन् । सरङ्गे नृत्य मगर राजाका पालामा युद्ध कौशल झल्काउने मौलिक मगर नृत्य भएको र त्यस नाचका लागि विशेष रूपले चाहिने सामग्री नेपालबाट भर्खरै मगाएको विशेष सूत्रबाट थाहा भएको छ । यसै अवसरमा नेपालका राष्ट्रिय कलाकार चर्चित गायक मनसुधन थापामगर र राष्ट्रिय हाँस्य कलाकार सन्ध्या बुढा (काउली बुढी) को विशेष प्रस्तुति रहने छ भने रेफल ड्रो गरिने छ । जसको पहिलो पुरस्कार एक तोला सुनको डल्लो र दोस्रो पुरस्कार पनि सुनको गहना हुने संस्थाका उपाध्यक्ष छविमाया पुनले बताएकी छन् ।

मगर दिवसको अवसरमा मगर संघ युकेले गरेका आफ्ना काम र गतिविधिहरूलाई लिपिबद्ध गरी सार्वजनिक रूपले पाठकहरूसम्म पु¥याउने उद्देश्यका साथ तयार पारिएको संस्थाको मुखपत्र ‘कानुङ लाङ्घा’को विमोचन गरिने संस्थाका सचिव र सो मुखपत्राका संयोजक सरला रानाले बताएकी छन् । मगर संघ युकेका अध्यक्ष सुनिल रानाको अध्यक्षतामा आयोजना हुने सो कार्यक्रम संस्थाका महासहिव रुद्र थापाले सञ्चालन गर्ने छन् । मगर दिवसको अवसरमा विभिन्न संघसंस्थालाई निम्तो गरिएको छ भने मगर दिवसका लागि सबै तयारी भइसकेको र बेलायतभरि छरिएर बसोबास गर्दै आएका हजारौँ मगरहरू मगर पहिचानलाई जोगाउन एवम् एकताको मालामा गाँसिन भेला हुने कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष लाल पुनले बताएका छन् ।

मगर बुद्धिजीवीहरूका अनुसार वि. सं. २०३९ फागुन १५ गते नेपालको टाहालुङ (तनहूँ) को ड्यामबोले (दमौली) मा सम्पूर्ण मगर समुदायको मुक्तिको आवाजलाई बुलन्द गर्दै मेचीमहाकलीभरि नै नेपाल मगर संघको झण्डा फहराउने महान् सङ्कल्पका साथ प्रथम राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको दिनलाई सम्झँदै यो ऐतिहासिक दिनलाई मगर संघको स्थापना दिवसको रूपमा मगर दिवसको रूपमा मनाउने गरिएको छ । विश्वभरिका सम्पूर्ण मगरहरूको ऐक्यबद्धतालाई संस्थागत स्वरूप प्रदान गर्न र सम्पूर्ण मगरहरूका हकअधिकारलाई सुनिश्चितता प्रदान गर्न वि. सं. २०३९ फागुन १५ गते नेपाल मगर संघको स्थापना भएको हो । विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनुका साथै एकताको मालामा गाँस्ने दिनको रूपमा मगर दिवस मनाइन्छ । बेलायतका मगरहरूद्वारा भने फागुन १५ लाई नै आधार मानेर यहाँको समय अनुकूल पारी मगर दिवस मनाउने गरिएको छ । त्यसैले यो मगर दिवसको अवसरमा बेलायत अधिराज्यभरि छरिएर रहेका मगरहरूलाई एकताको गाँठोमा बाँध्न र ऐक्यबद्धताको सन्देश सञ्चारित गर्न मगर संघ युकेले फागुन १० अर्थात् २२ फेब्रुअरी २०२० को दिन रेडिङ शहरमा भव्यताका साथ मनाउने भएको हो ।










तपाइँको प्रतिक्रिया