• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मेरो अठाह्र साल र संस्थाको पिर्का

  •   १३ माघ २०७५, आईतवार ११:०९ 
  • विजयहितान

    मेरा लागि सन् २०१८ उँधौली जस्तै बित्यो । रात लम्बिएर दिन छोट्टिँदै गर्दा लेकबाट चौँरीगोठ बेँसीतिर झरेजस्तै । मेरा लागि गत वर्ष नदीजस्तै उँधोतिर बगेको अनुभव भयो । मुहानमा एक्लै उम्रेको पानी झरना अनि खोलाहरू लाई पनि आफूमा समाहित पार्दै, सुकेर होइन फुकेर, सागरतिर झर्दै गरेको नागबेली नदीजस्तै ।

    बिष्ट फ्रम द इस्टजस्तो कठाङ्ग्रिँदै बेलायतमा सुरु भएको २०१८ ले मलाई कठङ्ग्र्याउन भने सकेन । मैले गर्दै आएका अभियानहरू- लाहुरे स्रष्टा मास्टर मित्रसेन र प्रथम शहिद लखन थापालाई इतिहासबाट ब्युँताउने काम, वातावरणीय जनचेतना, साहित्यिक सिर्जना, साहित्यिक र सामाजिक संस्थामा नेतृत्व इत्यादिलाई बेलायतको चिसोपनासँग लड्दै अगाडि बढाएँ ।

    अनेसास ले आयोजना गर्दै आएका साहित्य तथा सङ्गीतका राष्ट्रिय विभूति- मास्टर मित्रसेन, लैनसिंह वाङ्देल, भूपी शेरचन, र नारायण गोपालका जन्मदिवस कार्यक्रममा सहआयोजकको भूमिका निभाउँदै लन्डन पुगेँ ।प्रथम शहिद लखन थापाको जीवनीमा आधारित रेडियो नाटक ‘शहिदको सपना’ निर्माण गरेँ । शहिद सप्ताहलाई पारेर नेपालका विभिन्न एफएममार्फत प्रसारण गर्न लगाएँ । यस नाटक प्रसारण र पोखरामा लखन थापाको सालिक उखेलिनु संयोग प¥यो ।

    पारिवारिक र सामाजिक दावित्व त छँदै थियो । उपभोक्तावादी युगमा एक नागरिकको वातावरणीय दायित्व पनि हुनुपर्छ । वातावरण प्रबन्धन दिनदिनै गर्नु नै मेरो रोजिरोटीको स्रोत हो । यसबाहेक अर्थ आवरको दिन आफन्तसँग एक घण्टा बिजुली बत्ती निभाएर डिनर खाँदै र बिग्रँदो वातावरणलाई सुधार्ने कुराहरूगर्दै बिताएँ ।प्लेकार्ड बोकेर मानवीय हकअधिकारका लागि सडकमा प्रोटेस्ट गर्न हिँड्दिनँ । बरु स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने नागरिकको मौलिक हक हो भनी यसरी घरमै बसेर बत्ती निभाउँदै मौन प्रोटेस्ट गर्दछु ।

    अनि बेलायतमा उज्यालो छाउन सुरु ग¥यो । चराका चिरबिर आवाजले वसन्त आएको आभास दिन थाल्यो । उँभौलीको सँघारमै एक साहित्यिक संस्थाको पिर्का हस्तान्तरण गरेँ । २०१६ देखि साहित्यिक मित्रहरू ले लगाइदिनुभएको सम्माननीय फेटा खोलेर अर्कैलाई लगाइदिएँ । त्यो स्यानो पिर्कामा बसेर यति धेरै साहित्यिक गतिविधि गरिएछ कि केन्द्रिय समितिले सबैभन्दा सक्रिय शाखा भनेर सम्मान ग¥यो ।

    पिर्कामा बस्ने दुई वर्षे अवधिलाई बढाएर चार पनि गराउन सकिन्थ्यो । नेपाली राजनीतिक पार्टीहरू मा झैँ । नेपाली कांग्रेसको महाधिवेशनजस्तो डेडलाइन काटेन हाम्रो विश्व नेपाली साहित्य महासंघ साउथ युकेको निर्वाचनले । संगठनमा नयाँ पिँढीलाई हस्तान्तरण गर्दै अगाडि बढ्नुपर्छ भन्ने मन्डेला मान्यताले त्यो पिर्कामा एक सशक्त महिला स्रष्टालाई बसालेर म बाहिरिएँ । साहित्यिक संस्थामा महिला नेतृत्व नभैरहेको अवस्थामा हाम्रो संस्थालाई महिलाले हाँकेकी छिन् भन्दै घमण्ड गर्न पाएको छु ।

    सन् २०१८ मा बेलायतको तापक्रम इन्डियन समरभन्दा कम रहेन । मेरा गतिविधिहरू मा पनि हिटवेभ नै आयो । समर महिनाका लामा दिनहरू को फाइदा लिँदै मेरा सप्तान्तका क्रियाकलाप झनै सक्रिय भए । अत्यधिक गर्मीको कारणले युरोप र अमेरिकामा डढेलो लाग्न सुरु ग¥यो तर मेरा कार्यक्रममा असफलताका डढेलो कतै निभाउनुपरेन ।

    अरूले नेपालबाट कलाकारहरू लाई स्पोन्सर गरेर आर्थिक लाभ उठाइदिन्छन् । मलाई लाग्यो, साहित्यकारलाई त्यसो गर्छु । एकजना वरिष्ठ गीतकारको नाम दिमागमा आयो । स्पोन्सर गर्ने प्रक्रियातिर लागियो । दुईतीन दर्जन कागजपत्र यताउता गरियो होला । धन्न तिकागजपत्रमा डढेलो नलाईकनपासपोर्टमा भिसा लाग्यो । कविता गोष्ठी, गीतिलेखन प्रशिक्षण, सेमिनार गरिदियौँ । आर्थिक लाभ त हुन सकेन। तर उच्च सम्मान र सफलताको सगरमाथा चढेरवाहाँ नेपाल फर्किनुभयो रत्यसै भ्रमणमा आधारित दुई कृति प्रकाशन गर्नुभयो ।

    राजकुमार ह्यारीको विवाहजस्तै हाम्रो तेस्रो वातावरण साहित्य गोष्ठी सफल भयो । साहित्यिक संगठनहरू को सहयोग, राजदूत तथा वरिष्ठ गीतकारको आतिथ्यले कार्यक्रम लालिगुराँसजस्तै ढकमक्क फुल्न सफल भयो । दुई वर्ष खर्चेर मैले सम्पादन गरेको इको कविता कृति ’स्वच्छन्द सुसेलीहरू ’ पनि कार्यक्रममा विमोचन गरियो ।

    यसैबीचमा मैले नेतृत्व गरेको सामाजिक संस्थालाई पनि एम ट्वान्टीमा कार हाँकेजस्तै द्रुत गतिमा हाँकिरहेँ । कहिले शाखाको बैठक र समर भेटघाट, कहिले केन्द्रको एजिएम र ओपन कन्सर्ट गर्दागर्दै मेरा दिनहरूबितेको थाहै पाइनँ । दोहोरो चेपाइमा पर्दा लाग्यो, शाखामा भन्दा केन्द्रमै बसेर काम गर्दा सजिलो । आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै अन्य समाजका च्यारिटी डिनर, अन्तरक्रिया, साङ्गीतिक साँझ इत्यादिमा दौडादौड भयो । आसनग्रहण, खादा, माला, ब्याज, भाषण त्यति मन नपर्नेतर मलाई २०१८ मा त्यस्तै गर्न जुरेको थियो । प्रक्रियाभन्दा पनि परिणाममा बढी केन्द्रित हुने म, तर मलाई दिइएका ती सबै सम्मानहरूसहर्ष स्वीकार गरेँ ।

    बेलायत हिटवेभ र विश्वकपको ज्वरोबाट गुज्रिँदै गर्दा विश्व नेपाली साहित्य महासंघले साहित्य सम्मेलन गर्नतिर लाग्यो। वरिष्ठ साहित्यकारहरू लाई नेपालबाट झिकायौँ । प्रमुख संयोजक अध्यक्ष र सचिव रहेपनि सम्मेलनको दिन नआउँदा सम्म मलाई पनि निद्रा लागेन । मैले एक कार्यपत्र पेश गर्नुपर्ने भयो । एक महिनाको अध्ययनपछि जन्मियो ’युद्ध साहित्य र बेल्पाली लाहुरे स्रष्टा’ । मेरो कार्यपत्रको प्रस्तुतिपछि लाहुरेलाई बन्दुक भिरेर अफगानिस्तान तिर दौडेको देखेका व्यक्तिहरू ले कलम पनि समातेर साहित्यको फाँटमा असिनपसिन गर्दै गरेको थाहा पाए ।

    समरको घाम तापेर धित नमर्दै बेलायतलाई शिशिर लागेर चिस्सिन हतार भयो । म चिस्सिने कुरा आएन । विगत दुई वर्षदेखि सामाजिक संस्थाको नेतृत्व सम्हालेर पिर्कामा बस्दै आएको थिएँ । सानो संस्था चलाउनुस् या ठूलो, चुनौती त हुन्छन् नै । अधिवेशनको गृहयकार्य सुरु भयो । अन्य समाजको संस्थामा भए कुर्चीमा बसेर पदभार सम्हाल्नेको घुइँचो लाग्छ । विडम्बना, हाम्रो समुदायमा नेतृत्व लिनसक्ने व्यक्तिहरूकमै पाइन्छन् । अन्तत त्यो दिन पनि आयो ।xएकजना अनुभवी पूर्व सैनिक अफिसरलाई मगर संघ युके केन्ट साखाको सानो पिर्का सुम्पेर म नेतृत्वबाट एक्जिट भएँ । मेरो त्यो एक्जिट ब्रेक एक्जिटजस्तो अनिश्चित र विवादित भएन ।

    नेपालमा निर्वाचन भएर संघीयता कार्यान्वयनतिर लागिरहेको अवस्थामा, म पनि मेरा दुई संस्थालाई निर्वाचन गराइदिएर तिनका योजनाहरूकुशल कार्यान्वयनको शुभकामना दिँदै २०१८ लाई बाई बाई गर्नतिर लागेँ ।

    त्यसपछि पारिवारिक कामले नेपाल हानिएँ । तर सामाजिक र साहित्यिक गतिविधिको वासस्थानमा रम्ने एक लोपोन्मुख प्राणी परियो,कहाँ सुख पाईन्छ र ! बागबजारमा एक इको पोयट्री कार्यक्रम गरेँ । पर्यावरण रेडियोबाट निम्तो आयो । नेपाल वार एसोसियसनले राखेको ‘मानव अधिकार र स्वच्छ वातावरण’ विषयक अन्तरक्रियामा भाग लिएँ । काठमाडौँको वातावरणलाई सुधार्न बेलायतको मोडेललाई अनुकरण गर्न सकिन्छ भन्ने मन्तव्य राखेँ । ‘डस्टमाडौँ’ र ‘प्लास्टिक प्रदूषण’ भन्ने कविताहरूबाचन भए रेडियो उज्यालो नेटवर्कमा । वातावरण विभागका वातावरण निरीक्षकहरूसँग अन्तरक्रिया गरेर नेपालको वातावरण व्यवस्थापनका बारेमा बुझ्ने मौका मिल्यो । बेलायत सरकारसँग कुरा राखेर वातावरण व्यवस्थापन विषयमा तालिम, प्रशिक्षण, कर्मचारी एक्सचेन्ज जस्ता स्किमहरू ल्याउन महानिर्देशकलाई सल्लाह दिएँ ।

    छुट्टीको अन्त्यतिर पर्यटक भएर दार्जिलिङ र सिक्किमतिर गइयो । दार्जिलिङमा मास्टर मित्रसेनको सालिक स्थापना गरिँदै गरेको प्रोजेक्टका लागि २५,०००/- रूपैयाँ दान गरेँ । मास्टर मित्रसेनका गीतहरू लाई आफ्नै स्वर दिएर एल्बम प्रकाशन गरेका रहेछन् । सालिक स्थापनार्थ केही सहयोग होओस् भनेर सय थान एल्बम बेलायत ल्याइदिएँ ।

    उता सिक्किममा कक्षा ९ सम्म मगर भाषामा पढाइ हुँदो रहेछ । सिक्किम सरकारले बीएमा पनि मगर भाषामा पढाइ अगाडि बढाउनलाई पहल गर्दै रहेछ । मलाई लाग्यो, संघीयताको सफल कार्यान्वयन भएको सिक्न नेपाल सरकार सिक्किम जानुपर्छ । त्यहाँको सुखद् जनजीवन र समावेसी राज्य देखेर मलाई नेपाली नागरिकता त्यागी सिक्किम गएर बस्न मन लाग्यो ।

    यसपालिको नेपाल भ्रमणबाट नेपालको लोपोन्मुख एकसिङ्गे गैँडाभन्दा धेरैसङ्ख्यामा साथीहरू कमाए र बेलायत फर्कें ।

    यसरी मेरो सन् २०१८ न त उष्ण गर्मीमा बित्यो न त तुसारापातमा बित्यो । न त टेरेसा मेको ब्रेक्जिटजस्तो अनिश्चितकालको सामना गर्दै बित्यो, न त डोनाल्ड ट्रमको मेक्सिको बोर्डर वालको पोलिसी जस्तो विवादित बनेर बित्यो । यति व्यस्त भैएछ कि, थाहै भएन मेरो अठार साल कसरी बित्यो, कसरी ?

    (जनवरी २०१९, फोक्स्टोन, केन्ट, युके)

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने
    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य