लाल पुन
अल्डरसट । मगर संघ युकेले नेपालका जेहेन्दार मगर विद्यार्थीहरुको सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्यो । गत शनिबार २४ नोभेम्बर साँझ अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम आयोजना गरिएको हो ।
मगर संघ युकेका तत्कालीन अध्यक्ष दुत पुन (चिम्खोले काइँला) को अध्यक्षतामा रहेको कार्यसमितिले नेपालका जेहेन्दार मगर विद्यार्थीहरुलाई मास्टर्स डिग्री र पिएचडी (विद्यावारिधी) अध्ययनमा सहयोग गर्ने उद्देश्यका साथ एक करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने योजनाअनुरुप वर्तमान कार्यसमितिले च्यारिटी कार्यक्रम आयोजना गरेको हो ।
मगर संघ युकेका आजीवन सदस्य क्याप्टेन वीरबहादुर पुन मगर डिसिएमको प्रमुख आतिथ्य, नेपाल मगर संघकी केन्द्रीय कोषाध्यक्ष कमला थापा र मगर संघ युकेका सल्लाहकार ले.रि. मानबहादुर बुढाको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विद्यावारिधी, मास्टर्स डिग्री र मेडिकल डाक्टर उत्तीर्ण गरेका मगर विद्यार्थीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
त्यस्तै, बेलायतमा रहेर मगरहरुको भाषा, कला र संस्कृतिमा महत्वपूर्ण योगदान दिएका विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । सो अवसरमा नेपाली चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ नायक धिरज मगर, बेलायतका लोकप्रिय किक बक्सर आदिप राना, कलाकार सविता राना, टप मोडल युके २०१८ डिकमाया खोर्जा पुन मगर र सांकेतिक भाषा अनुवादक रिचार्डलगायतलाई खादा लगाई सम्मान गरिएको थियो ।
त्यस्तै, मगर संघ युके वेम्ब्ली शाखाका अध्यक्ष पूर्ण रानालगायत नवनिर्वाचित कार्यसमिति, केन्ट शाखाका अध्यक्ष क्या. रामबहादुर पुनलगायत नवनिर्वाचित कार्यसमिति र बाग्लुङ समाज युकेको अध्यक्षमा चयन भएकी छविमाया पुनलाई समेत औपचारिक रुपमा बधाई ज्ञापन गरिएको थियो ।
मगर संघ युकेकी उपाध्यक्ष एवं कार्यक्रम सहसंयोजक सिता पुनले स्वागत मन्तव्य दिइएको कार्यक्रममा मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक योगकुमार फगामीले च्यारिटी डिनर कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए भने कोषाध्यक्ष नेत्र आलेले संघको आय–व्यय प्रस्तुत् गरेका थिए । टप मोडल युके २०१८ डिकमाया खोर्जा मगरले सांकेतिक भाषामा मन्तव्य दिएकी थिइन् । सांकेतिक भाषालाई रिचार्डले अनुवाद गरेका थिए । कार्यक्रममा सल्लाहकारहरु नरेश खपाङ्गी र रमेश सिंह सराङ्गकोटीले पिचएचडी तथा मास्टर्स डिग्रीको बारेमा जानकारी गराउँदै च्यारिटी ट्रष्टको बारेमा प्रिजेन्टेसन दिएका थिए । बेलायतमा बसोबासरत मगरहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा मगर संघ युकेका उपाध्यक्ष अनिता राना र एडमिन सहसचिव धना रोकाले पाहुनाहरुको औपचारिक स्वागत गरेका थिए ।
मगर संघ युकेका १० वटा शाखा, मगर महिला संघ, पुन मगर समाज युके, पुन समाज युके, मगर बुद्धिस्ट सोसाईटी युके, खाम भाषी, गोर्खा ग्रुपलगायत मगरहरुको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा मगर संघ युकेका संरक्षक घन थापा मगरको ‘नबिर्स’ र पूर्वउपाध्यक्ष बिल पुर्जाको ‘मलम’ नामक कृतिलाई विमोचन गरिएको थियो ।
सांस्कृतिक सचिव तुलचन्द्र तिलिजाले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा क्या.रि. वीरबहादुर थापा, मगर गड ट्यालेन्ट (२०१७) बिजेता कौरा डकुमेन्ट्री नायिका सविता राना, मगर गड ट्यालेन्ट (२०१८) विजेता मेफ्रुंग योउथ वेम्ब्ली, नेपाली डान्सर विजेता (२०१६) एस्मी थापा र रिया थापा मगरले आ–आप्mनो कला प्रस्तुत् गरेका थिए । त्यस्तै नेपालबाट आएका गायक कलाकार सुशीला गौतम र बालकृष्ण बरालले विभिन्न गीतहरु प्रस्तुत् गरेका थिए ।
कार्यक्रममा मगर संघ युकेका निवर्तमान अध्यक्ष दुत पुन (चिम्खोले काइँला), ले.कर्णेल यम राना र विभिन्न शाखाका अध्यक्षहरुलगायत अतिथिको बाक्लो उपस्थिति रहेको थियो ।
मगर संघ युकेका अध्यक्ष नेम थापाको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष योगकुमार फगामीको संयोजकत्व र उपाध्यक्ष सिता पुनको सहसंयोकत्वमा सम्पन्न औपचारिक कार्यक्रमलाई महासचिव लालबहादुर पुनले सञ्चालन गरेका थिए ।









तपाइँको प्रतिक्रिया